मङ्गलबार, ०२ डिसेम्बर २०२५

नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति

News Image
• • •

एमाले अध्यक्ष केपी ओलीले आफूपछि तत्कालिन महासचिव तथा हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष बनाउने सहमति गरेको नेताहरूले खुलासा गरेका छन्।

आठौं महाधिवेशनमा झलनाथ खनाललाई अध्यक्षमा सघाएका पोखरेलसँग नवौं महाधिवेशनको संघारमा ओलीसहित तत्कालिन उपाध्यक्ष विद्या भण्डारी, तत्कालिन सचिव शंकर पोखरेलले ओलीलाई सघाउन आग्रह गर्दै ईश्वरलाई आफूपछि अध्यक्ष बनाउने भद्र सहमति गरेको नेताहरूको दाबी छ।

त्यसो त ईश्वरले दशौं महाधिवेशनमा पनि अध्यक्ष दाबी गरेनन्, ओलीलाई नै सघाए। तर ओलीले आफू आजीवन अध्यक्ष बन्ने गरी विधान नै संशोधन गरेपछि अहिले ११औं महाधिवेशनमा ईश्वरले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्।

अध्यक्षमा ईश्वरको उम्मेद्वारी घोषणा गरेपछि ओलीनिकटकै नेताहरूले नवौं महाधिवेशनमा गरेको त्यो भद्र सहमतिलाई स्मरण गराएका छन्। 

ओलीनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘सहमतिको साक्षी नेताहरू जीवितै हुनुहुन्छ। दुई कार्यकाल अध्यक्ष बन्न पाउने भएकोले आफूपछि उहाँ (ईश्वर) नै निर्विकल्प अध्यक्ष हो भन्नु भएको थियो। अहिले विधान संशोधन भएपछि उहाँहरूबीच खटपट भएको हो।’

यता ओली र पोखरेलबीच भएको भद्र सहमतिको साक्षी बसेकी पूर्वउपाध्यक्ष तथा पूर्व राष्ट्रपति भण्डारीले समेत उक्त सहमतिको पुष्टि गरेकी छन्। उनले कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रममा बोल्दै नवौं महाधिवेशनपछि अध्यक्षमा ईश्वरलाई सघाउने सहमति भएको खुलासा गरेकी हुन्।

त्यसो त संकटको समयमा साथ दिएका पोखरेललाई ओलीले नवौं महाधिवेशनमा आफू अध्यक्ष भएदेखि नै किनारा लगाइरहेका थिए। एमाले–माओवादी एकता भएर बनेको नेकपामा एमालेका निर्वाचित तत्कालिन शक्तिशाली महासचिव उनै पोखरेललाई किनारा लगाएर विष्णु पौडेललाई महासचिव बनाएका थिए।

पोखरेलनिकट स्रोतका अुनसार त्योबेला शीतल निवासमा राष्ट्रपतिको आसनमा रहेकी भण्डारीले ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाल र ईश्वरलाई राखेर आपत्ति नै जनाएकी थिइन्। उनले त्यो बेला नै ईश्वरमाथि अन्याय हुन नहुने बताएकी थिइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!