मङ्गलबार, ३० डिसेम्बर २०२६

ससुरालाई समानुपातिकमा सिफारिस गर्न आफ्नो हात नरहेको गगनको प्रष्टीकरण

News Image
• • •

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ससुरा अर्जुननरसिंह केसीलाई आफूले समानुपातिक सूचीमा सिफारिस नगरेको प्रष्टीकरण दिएका छन्।

यसअघि चुनाव नलड्ने घोषणा गरेका केसीलाई कांग्रेसले समानुपातिकमा सिफारिस गर्दै निर्वाचन आयोगमा बन्दसूची बुझाइसकेको छ। गगनका ससुरा सूचीमा परेपछि उनको आलोचना सुरु भएको छ।

गगनले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो चाहना र प्रयास विपरित ससुरालाई समानुपातिक सूचीमा राखिएको दाबी गरेका हुन्।

उनले भनेका छन्, ‘नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु, यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हरसम्भव प्रयास विपरितको निर्णय हो।’

गगनले थपेका छन्, ‘मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्। जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासँग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौं। यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!