बिहिबार, ०१ जनवरी २०२६

चुनाव नलड्ने ‘मुड’मा विष्णु पौडेल

News Image
• • •

नेकपा (एमाले)का उपाध्यक्ष तथा लुम्बिनी क्षेत्रका प्रभावशाली नेता विष्णु पौडेल गृहजिल्लामा एकपछि अर्को झट्का लाग्न थालेपछि आगामी निर्वाचन नलड्ने मनस्थितिमा पुगेका छन्।

विगतमा उनलाई काँधमै बोकेर पटकपटक निर्वाचन जिताउन महत्त्वपूर्ण भूमिका खेलेका नेताहरूले धमाधम पार्टी परित्याग गरेपछि रुपन्देही जिल्लामा एमाले संकटमा छ। सोही कारण उपाध्यक्ष पौडेल चुनाव नलड्ने मनस्थितिमा पुगेकाे उनीनिकट नेताहरू बताउँछन्।

मंगलबार मध्यराति एमालेका प्रभावशाली नेता बासुदेव घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरे। केन्द्रीय नेतृत्वको कार्यशैलीमाथि लामो समयदेखि खबरदारी गर्दै आएका उनले अन्ततः पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको तयारी गरेका छन्।

घिमिरे रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख तथा विघटित प्रतिनिधिसभामा रुपन्देही–५ बाट निर्वाचित सांसद समेत हुन्। उनले आफ्नो कार्यकालमा तिलोत्तमा नगरपालिकालाई देशकै सर्वोत्कृष्ट नगरपालिका बनाएका थिए।

एमाले छोड्नुअघि घिमिरेले पौडेललाई यसपटक समानुपातिकमा बस्न सुझावसमेत दिएका थिए। पौडेललाई उनले भनेका थिए, ‘म तपाईंकै क्षेत्रबाट भिड्ने हो। तपाईंलाई हराउने मेरो चाहना छैन, समानुपातिकमा बस्नुस्।’

घिमिरे मात्र होइन एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्कीसमेत पार्टी परित्याग गरी रास्वपा प्रवेश गरिसकेका छन्। ओली सरकारले जेनजी आन्दोलनका क्रममा युवा विद्यार्थीको हत्या गरेको भन्दै उनले एमाले छोडेको घोषणा गरेका थिए।

कार्की उपाध्यक्ष पौडेलका पूर्वस्वकीय सचिव हुन्। गत निर्वाचनमा पौडेलकाे पक्षमा जित दिलाउन उनको ठूलो भूमिका थियो।

अर्कोतर्फ लुम्बिनीका पूर्वमुख्यमन्त्री लिला गिरी एमालेमै भएपनि महासचिव शंकर पाेखरेल समूहकाे अपमान सहेरै बसेका छन्। त्यसाे पछिल्लो समय गिरीलाई अध्यक्ष ओलीले पार्टीमा भूमिकाविहीन बनाउँदा उपाध्यक्ष पाैडेल माैन नै बसे। हाल तटस्थ अवस्थामा रहेका गिरी नेतृत्वप्रति सकारात्मक छैनन्।

घिमिरे, कार्की र गिरी पौडेलका सदाबहार सारथी मानिन्थे। उनी पदमा हुँदा पनि नहुँदा पनि काँध हालेर हिँड्थे उनीहरू। पिँधमा बसेर रुपन्देहीमा पौडेलको पक्षमा माहोल बनाउने उनीहरू कहिल्यै पार्टीविरुद्ध लागेका थिएनन्।

सबैसँग मिल्ने र सबैलाई मिलाउने स्वभाव भएका उनीहरू कसैलाई नचिढ्याएका, नपिरेका नेता हुन्। उनीहरूमार्फत नै विष्णु पौडेलसँग जोडिएका नेता कार्यकर्ताहरू यतिबेला निराश छन्।

यतिमात्रै होइन रुपन्देहीकी चर्चित युवा संघ नेपालकी केन्द्रीय सदस्य श्रद्धा कुवँरले पनि रास्वपा प्रवेश गरेकी छन्। उनी रास्वपाको समानुपातिक सूचीमा छन्। 

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा विष्णु पौडेलको आर्थिक सहयोगी मञ्जु भुसाल पनि रास्वपाको समानुपातिक सूचीमा छन्। उनी एमाले निर्माण व्यवसायी महासंघ लुम्बिनीकी पूर्वअध्यक्षसमेत हुन्।

एमाले सहकारी बोर्ड सदस्य ज्ञानु पौडेल पनि रास्वपाको समानुपातिक सूचीमा पर्दा मधेसी समुदायमा राम्रो पकड भएका युवा नेता सञ्जय गुप्ताले पनि पार्टी छोडेका छन्। उनी पनि रास्वपा प्रवेश गर्ने चर्चा छ।

यसरी एकपछि अर्का प्रभावशाली नेताहरूले धमाधम पार्टी परित्याग गरेपछि दबाबमा परेका पौडेल अन्ततः चुनाव नै नलड्ने मुडमा पुगेका हुन्।

विश्वासपात्रहरूले नै किन छोडे पौडेलको साथ?

लुम्बिनी प्रदेशकाे राजधानीसँग अर्थमन्त्री साटेको भन्दै समग्र रुपन्देही उपाध्यक्ष पौडेलसँग रुष्ट छ। बुटवलमै राजधानी बनाउने बहुमत हुँदाहुँदै पौडेलले केपी ओलीको चित्त नदुखाउनका लागि शंकर पोखरेलको प्रस्ताव स्वीकार्दै राजधानी दाङ सार्न भूमिका खेले।

रुपन्देहीको एउटा सार्वजनिक कार्यक्रममा केपी ओलीले स्वयं विष्णु पौडेलको सल्लाह, सहमति र सहकार्यमा प्रदेश राजधानी सारेको अभिव्यक्ति दिएपछि पौडेलनिकट नेताहरू नै चिढिन पुगे।

ओलीको त्यो अभिव्यक्ति आवेगमा थिएन, सुझबुझपूर्ण नै थियो। जसको परिणाम अहिले विष्णु पौडेलले भोगिरहेका छन्।

स्थायी राजधानी कायम गर्नुअघि पौडेलसँग छिटफुट रिसाएका कार्यकर्ताहरू ओलीको अभिव्यक्तिपछि पूर्ण रुपमा असन्तुष्टि बने र त्यो सिलसिला यहाँसम्म आइपुग्यो कि पौडेलका सारथी र व्यवसायिक सहयोगीहरू बिस्तारै टाढिँदै गए।

‘कमरेड विष्णु पौडेल आफैंमा अवसरवादी चरित्र भएका पात्र हुन्। विगतदेखि नै खासै गतिलो छवि भएका व्यक्ति भने होइनन्। तिकडम गर्न माहिर नै छन्। यस्ता व्यक्तिलाई ओलीले स्थान दिएपछि जिल्लामा स्वभावैले प्रभाव त पर्ने भइहाल्यो। तर, हामीले उनको स्वभाव जस्तो भए पनि कुनै दिन नेतृत्व गर्लान् भन्ने ठानेका थियौं। अब भ्रमको पर्दा हटिसक्यो। यस्ता बेइमान पात्रको बारेमा के टिप्पणी गरिराख्नु?,’ एमाले रुपन्देही जिल्ला कमिटीका एक सदस्यले आक्रोश पोखे।

विष्णु पौडेलले जित्दै आएको रुपन्देहीमा–२ मा एमालेको मत क्रमशः खस्किँदो अवस्थामा छ। ०७९ कै परिणामलाई नियाल्ने हो भने पनि उनी बालबाल जोगिएका थिए। मूलतः त्यो बेला पनि षड्यन्त्रको सिद्धान्त प्रयोग नगरेको भए उनको हार निश्चित रहेको एमालेकै नेताहरू बताउँछन्।

रुपन्देहीमा एमाले उपाध्यक्ष पौडेल दयनीय अवस्थामा पुग्नुका पछाडि ओली र शंकरको रणनैतिक चालले काम गरेको उनीपक्षका नेताहरूको बुझाइ छ। पार्टीभित्र भावी नेतृत्वका रुपमा हेरिएका पौडेल र महासचिव पोखरेलबीच को प्रभावशाली हुने? भन्ने टकराव लुम्बिनीदेखि केन्द्रसम्मै पुगेको छ।

१०औं महाधिवेशनदेखि नै यी दुईको प्रतिस्पर्धामा महासचिव पोखरेल नै अघि देखिएका छन्। पौडेलले पार्टीको पकट मात्रै होइन, भूगोल र संसदीय राजनीतिको पकड पनि गुमाउँदैछन्।

एमालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘विष्णु कमरेड मुलतः केपी ओलीको आदेशपालक बन्दा एमाले कार्यकर्तादेखि रुपन्देहीका मतदाताको नजरमा गिरिसकेका छन्। जो काम एक दशकअघि बामदेव गौतमले नेता कार्यकर्ताको टाउका गनेर पदको बार्गेनिङ गर्थे, त्यो काम आज विष्णु पौडेलले गरिरहेका छन्। हाम्रो टाउको गनेर बार्गेनिङ गर्न खोज्दा उनी पार्टीका लागि हानीकारक बनेका छन्। उनको पक्षमा लाग्नेहरू बिस्तारै तेल पेलिएझैं पेलिएपछि उनलाई नै नेता मानेर को बस्छ?’

त्यसाे त उपाध्यक्ष पौडेलले हिजोआज अध्यक्ष केपी र महासचिव पाेखरेलसँग आत्मसमर्पण गरेकोमा हीनताबोध गर्न  थालेका छन्। आफूसँग सम्पर्कमा आएका नेताहरूसँग उनले ओली–शंकरको पेला‍नमा आफू एक्लिने भएपछि रणनीतिक मुभ लिनैपर्ने बाध्यतामा परेको भन्ने गरेका छन्।

‘म पनि मान्छे नै हो। केही सानातिना गल्तीहरू भएकै छन्। पूर्वराष्ट्रपतिज्यूलाई सदस्यता दिलाउन नसक्नु ठूलो कमजोरी भयो। प्रयास गरेको हो सकिएन,‘ पौडेलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‌‘ओलीलाई पनि नउठ्नुस् भनेकै हो। आफैं एक्लिने भएपछि रणनैतिक मुभ लिनैपर्ने थियो। तर ढुक्क हुनुस्, हामी सँधै पेलिएर बस्दैनौं। तपाईंहरूले यहाँ माहोल कायम राख्नुभयो भने सजिलो हुन्छ। पछि नहट्नुहोला। तपाईंहरूको शिर निहुरिन दिन्न। बाचा भयो।’

तर, एमाले रुपन्देहीका नेताहरूले भने पौडेललाई यसपटक निर्वाचन नै नलड्न आग्रह गरेका छन्। पराजित हुनुभन्दा बरु एकपटक त्याग गरे राम्रो सन्देश जाने र यो निर्वाचन नै अन्तिम नभएकाले पछि फेरि माहोल बनाएर जान सकिने उनीहरूको सुझाव छ।

पौडेललाई नेताहरूको सुझाव छ, ‘तपाईं हाम्रो नेता नै हो। तर, यसपटक तपाईंले आफ्नो साख जोगाउने हो। हामी नराम्ररी पराजित हुन्छौं। बासु कमरेड घण्टीतिर लागिसक्नुभयो। चित्रजी पनि उतै लागिहाल्नु भयो। नेताहरू रास्वपा जाने लहर नै चलेको छ। अस्ति पनि झन्डै हारेकै हो, बालबाल बाँचियो। यसपटक त्याग गरौं। चुनाव यो मात्रै अन्तिम होइन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!