बिहिबार, ०८ जनवरी २०२६

रास्वपा उपसभापतिमा सम्झौता गरेका कुलमान भन्छन्ः कुनै दलमा आवद्ध छैन

News Image
• • •

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसनको अन्तर्क्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको दाबी गरेका हुन्।

उनले भने, ‘मलाई यहाँ एउटा साथीले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन।’

कुलमानले पार्टीमा आवद्ध नभएको दाबी गरे पनि उनी संरक्षक रहेको उज्यालो नेपाल पार्टीका हरेक कार्यक्रममा पुगेर पार्टीको अपनत्व लिने गरेका थिए।

पुस १४ गते सोमबार राति रास्वपा र घिसिङको उज्यालो पार्टीबीच एकता सहमति हुँदा कुलमानलाई पार्टीमा दोस्रो वरियताको उपसभापति बनाउने गरी सम्झौता भएको थियो।

उक्त सम्झौताको चौथो बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने।’

मन्त्री घिसिङले सरकारको काम भन्दा पार्टीको काममा बढी समय दिन थालेपछि निर्दलीय अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद बैठकमै कुलमानसहित ३ मन्त्रीलाई पदबाट राजीनामा दिन सुझाव दिएकी थिइन्।

त्यस्तै रास्वपा प्रवेश गर्ने तयारीमा रहेको भन्दै चर्चाको केन्द्रमा रहेका सञ्चारमन्त्री जगदीश खरेल र रास्वपा–कुलमान सम्झौता हुँदा उपस्थित खेलकुदमन्त्री बब्लु गुप्तालाई प्रधानमन्त्रीले सरकारको काम वा पार्टीको काममध्ये एक रोज्न भनेको मन्त्रिपरिषद् स्रोतले बतायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!