बिएल संवाददाता
नेपाली कांग्रेसले मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णलाई उम्मेदवार बनाएको छ। कांग्रेसले मधेस प्रदेशको अल्पसंख्यक क्लस्टरमा कर्णलाई उम्मेदवार बनाएको हो।
राष्ट्रिय सभा निर्वाचनमा प्रमुख दुई दल एमाले र कांग्रेसले गठबन्धन बनाएका छन्। दुई ठूला दलको गठबन्धनका कारण गठबन्धनका उम्मेदवार भारी भतभारले विजयी हुने निश्चित देखिन्छ।
को हुन् रञ्जित कर्ण?
रञ्जित कर्ण केवल एउटा नाम मात्र होइनन्, उनी कांग्रेसभित्रको युवा र जुझारु अनुहार हुन्।
विद्यार्थी आन्दोलनको कमाण्ड सम्हालिसकेका कर्णलाई उम्मेदवार बनाएर कांग्रेसले मधेसमा नयाँ पुस्तालाई समेट्ने प्रयास गरेको देखिएको छ। कर्णले कांग्रेसको नर्सरी मानिने नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय अध्यक्षको रूपमा सन् २०१२ देखि २०१६ सम्म नेतृत्व गरिसकेका छन्।
उनको कार्यकालमा नेविसंघले लामो समयदेखि हुन नसकेको महाधिवेशन सम्पन्न गराएर चर्चा कमाएको थियो। उनी २०७० सालको दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद थिए। संविधान निर्माणको प्रक्रियामा उनले युवा र मधेसका मुद्दाहरूलाई सशक्त रूपमा उठाएका थिए।
जनता समाजवादी पार्टीकी नेतृ रेणु यादवले विवादास्पद अभिव्यक्ति दिँदा उनीविरुद्ध प्रहरीमा उजुरी दिनेदेखि मधेसमा हुने विभेदविरुद्ध उनी सधैँ अग्रपंक्तिमा देखिँदै आएका छन्। उनी कांग्रेसभित्र विधि र पद्धतिको वकालत गर्ने नेताका रूपमा चिनिन्छन्।
केही समयअघि मात्रै उनले पार्टीको सम्पूर्ण केन्द्रीय समितिले राजीनामा दिएर नयाँ तदर्थ समिति बनाउनुपर्ने भन्दै ८ बुँदे सुधारको एजेन्डा अघि सारेका थिए।
शेखर कोइराला पक्षबाट सिफारिस भएका इन्जिनियर कर्ण पुल्चोक इन्जिनियरिङ क्याम्पसको पहिलो ब्याजको विद्यार्थी हुन्। उनै कर्ण अहिले मधेश प्रदेशबाट सिंगो नेपालको प्राविधिकहरूको प्रतिनिधित्व गर्दै राष्ट्रियसभामा सदस्य बन्न लागेका हुन्।
रञ्जित कर्णको परिचय केवल एउटा राजनीतिक नेताका रूपमा मात्र सीमित छैन। उनी सामाजिक न्याय र मानवीय सेवामा पनि उत्तिकै सक्रिय व्यक्तित्व हुन्। नेविसंघको अध्यक्ष हुँदा विपन्न र जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्तिको कोटा बढाउन र पारदर्शी बनाउन उनले खेलेको भूमिकालाई अहिले पनि विद्यार्थी नेताहरूले स्मरण गर्छन्।
भूकम्पका बेला रञ्जित कर्णले नेविसंघको ठूलो दस्ता परिचालन गरेर सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौंका विभिन्न स्थानमा अस्थायी टहरा निर्माण र राहत वितरणमा प्रत्यक्ष नेतृत्व गरेका थिए।
हरेक वर्ष तराई–मधेसमा हुने डुबान र बाढीका बेला उनी आफैँ फिल्डमा खटिएर राहत र उद्धार कार्यमा सक्रिय हुन्छन्। उनले सप्तरी र आसपासका जिल्लाहरूमा बाढी पीडितका लागि संकलन गरिएको राहत वितरणमा पारदर्शी प्रणाली बसालेका थिए।
मधेसमा रहेको नागरिकता सम्बन्धी समस्या समाधानका लागि उनले सदन र सडक दुवैतिर आवाज उठाएका छन्। हजारौँ युवाहरू नागरिकता विहीन भएर राज्यको सेवा सुविधाबाट वञ्चित भएको देख्दा उनले कानुन निर्माणका क्रममा आमाको नामबाट नागरिकता र नागरिकता वितरणमा सरलीकरणका लागि कडा वकालत गरेका थिए।
मधेस प्रदेशमा व्याप्त रहेका सामाजिक कुप्रथाहरू दाइजो प्रथा, बोक्सी प्रथा र बालविवाह विरुद्ध उनले तल्लो तहदेखि नै चेतनामूलक अभियानहरू चलाएका छन्।
कोरोना महामारीको समयमा जब मानिसहरू अक्सिजन र औषधिका लागि छट्पटाइरहेका थिए, रञ्जित कर्णले आफ्नो टिम परिचालन गरेर अस्पतालहरूमा अक्सिजन सिलिन्डर पुर्याउने र अलपत्र परेका मजदुरहरूलाई खाना खुवाउने कार्यको नेतृत्व गरेका थिए।
उनको योगदान केवल भाषणमा मात्र होइन, एक्सनमा देखिने भएकाले नै उनलाई कांग्रेसले यसपटक राष्ट्रियसभाको उम्मेदवार बनाएको हो। उनी बौद्धिक र जुझारु दुवै गुण भएका नेता हुन्, जसले मधेसको भावना र केन्द्रको राजनीतिलाई जोड्न सक्छन् भन्ने बुझाई कांग्रेसको छ।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया