शुक्रबार, २३ जनवरी २०२६

मिसन पिएम: गगनलाई ‘प्रधानमन्त्री’ प्रोजेक्ट गर्दै काँग्रेस

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

विशेष महाधिवेशनबाट चुनिएका सभापतिलगायत नेपाली काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज पदभार ग्रहण गर्दैछन्।

टिकट बाँडेर सबै पक्षका नेताहरूलाई चुनावी मैदानमा पठाएपछि विशेष महाधिवेशनबाट नेपाली काँग्रेसका सभापति चुनिएका गगनकुमार थापासहित नयाँ नेतृत्व आज पहिलोपटक पार्टीको मुख्यालय सानेपामा पदभार ग्रहण गर्न लागेका हुन्।

शुक्रबार नयाँ कार्यसमितिको बैठक पहिलोपटक पार्टी कार्यालयमा बस्न लागेको छ। यसअघि दुई पटक केन्द्रीय समिति बैठक विभिन्न पार्टी प्यालेसमा बसेको थियो।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए पनि देउवा समूहले भने त्यसलाई स्विकार गरेको थिएन। उनीहरू त्यो मुद्दा बोकेर सर्वोच्चसम्म पुगे। तर सर्वोच्चले पनि त्यसमा अन्तरिम आदेश दिएन।

त्यत्तिञ्जेल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता सुरु भइसकेको थियो। र गगनले सबै पक्षलाई समेटेर टिकट वितरण गरिसकेका थिए।

त्यसअघिसम्म देउवा समूहका कार्यकर्ताहरूले पार्टी कार्यालय घेरेर राखेका थिए।

आजको बैठकमा फागुन २१ को निर्वाचन, बागी तथा विद्रोही उम्मेदवारहरूको व्यवस्थापन र चुनावी खटनपटनलगायतका अजेन्डाहरूमा छलफल हुनेछ। त्यस्तै बैठकले सभापति गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने औपचारिक निर्णय पनि गर्नेछ।

यसअघि नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पनि थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर नेपाली काँग्रेस चुनावमा होमिने घोषणा गरिसकेका थिए।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!