बुधबार, २८ जनवरी २०२६

अमेरिकाको सबैभन्दा ठूलो युद्धपोत इरानतिर

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ठूलो नौसैनिक युद्धपोत इरानतिर अघि बढिसकेको भन्दै चाँडो भन्दा चाँडो सम्झौताका लागि तयार रहन इरानी अधिकारीहरूलाई चेतावनी दिएका छन्।

‘एकअर्को निकै सुन्दर नौसैनिक युद्धपोत इरानतर्फ अघि बढिसकेको छ। हेरौं अब के हुन्छ’ ट्रम्पले भनेका छन् ‘मलाई आशा छ कि उनीहरू(इरानी अधिकारी) तत्काल सम्झौतामा आउनेछन्।’

इरानमा सरकारविरोधी आन्दोलन चर्किरहँदा अहिले त्यहाँ राजनीतिक संकट गहिरिएको छ। प्रदर्शनकारीहरूलाई ट्रम्पले प्रत्यक्ष समर्थन गरिरहेका छन् भने इरानमा सैन्य आक्रमणको चेतावनी पनि दिइरहेका छन्। उनले लगातार इरानतिर ठूला युद्धपोत र युद्धबहानहरू पठाइरहेको दाबी पनि गर्दै आएका छन्।

हालैमात्र अरब सागरमा कैयौं अमेरिकी युद्धपोतहरू तैनाथ गरिएका छन्। ट्रम्पले अहिले तैनाथ गरिएको भनेको ‘अब्राहम लिंकन युद्धपोत’ हो। अमेरिकी युद्ध उपकरणमध्ये यो सबैभन्दा खतरनाकमध्येको एक हो। यसले सयौं युद्धक विमानहरू बोक्नसक्ने क्षमता राख्छ।

गत महिनादेखि इरानमा सरकार विरोधी प्रदर्शन चलिरहेको छ। देशब्यापीरुपमा चलिरहेको यो प्रदर्शनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष सर्मथन दिइरहेका छन्। उनले प्रदर्शनकारीमाथि दमन गरे इरानमाथि आक्रमण गर्ने चेतावनी पनि दिँदै आएका छन् र प्रदर्शनकारीहरूलाई सरकारी अड्डाहरू कब्जा गर्न उक्साइरहेका छन्।

यो बीचमा इरानले देशमा संकटकाल लगाएर प्रदर्शनकारीमाथि ब्यापक दमन गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र मानवअधिकारवादी संघसंस्थाहरूले हजारौं प्रदर्शनकारी मारिएको दाबी गर्दै आएका छन्। ट्रम्पको चेतावनीपछि केही प्रदर्शनकारीलाई फाँसी दिने निर्णयबाट इरानी सरकार पछि हटेको छ।

योबीचमा आफूमाथि आक्रमण हुनसक्ने वा मारिनसक्ने सम्भावना बढेको भन्दै इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई भूमिगत भएका छन्।

बिगत सात महिनायता उनी दोस्रोपटक भूमिगत भएका हुन्।

ट्रम्पले खामेनेईको हालत पनि यसअघिका इरानी नेताहरू कासिम सुलेमानीजस्तै हुनसक्ने धम्की दिएका थिए। सन् २०२० मा बगदादको विमानस्थलमा ट्रम्पकै आदेशमा सुलेमानीमाथि ड्रोन आक्रमण गरेर सुलेमानीको हत्या गरिएको थियो। त्यसअघि सन् २०१९ मा उत्तरी सिरियामा अमेरिकी सेनाले गरेको आक्रमणमा आइएसआइएसका प्रमुख अबु बक्र अल बगदादी पनि मारिएका थिए। गत वर्षमात्रै अर्का नेता हसन नसरल्लाह पनि बेरुतमा मारिएका थिए।

३६ वर्षदेखि निरन्तर इरानको सत्तामा रहेका खामेनेई पश्चिमा राष्ट्रहरुको विरोधी नेताकारुपमा चिनिन्छन्। हालैमात्र अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएपछि खामेनेई पनि अहिले भूमिगत भएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!