सोमबार, ०२ फेब्रुअरी २०२६

ओली–प्रचण्ड वार्ता, गठबन्धन गर्नेबारे चर्चा

News Image
• • •

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)बीच आइतबार फोनवार्ता भएको खुलेको छ।

दुई नेताहरूबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धन गर्नेबारे गम्भीर छलफल भएको बुझिएको छ। स्रोतका अनुसार ओलीले प्रचण्डलाई गठबन्धनको प्रस्ताव गरेका छन्।

ओलीले झापा, दाङ, रुपन्देही, ताप्लेजुङलगायत जिल्लामा गठबन्धनको प्रस्ताव गरेका थिए। प्रचण्डनिकट स्रोतका अनुसार उनले ओलीको प्रस्ताव सकारात्मक रुपमा लिए पनि सीमित ठाउँमा मात्र भन्दा गठबन्धन गरेर बदनाम हुनुभन्दा सबै क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने कुरा राखेका छन्।

स्रोतका अनुसार ओलीले तत्काल आफू र आफूनिकट नेताहरूलाई सुरक्षित गर्ने रणनीतिअनुसार सीमित ठाउँमा गठबन्धन गर्ने र रुकुम पूर्वमा प्रचण्डलाई जिताइदिने आश्वासन दिए पनि देशव्यापी गठबन्धनबारे तत्काल ठोस जवाफ दिएनन्। उनले प्रचण्डको प्रस्तावमा सकारात्मक रहेको र थप छलफल आवश्यक रहेको भनेका छन्।

पार्टी एकतादेखि फुटसम्म, गत निर्वाचनमा एकअर्काविरुद्ध विषवमनदेखि सत्ता सहकार्यसम्म र फेरि ब्रेकअपसम्म, यी दुई नेताबीचको सम्बन्ध नाटकीय रहँदै आएको छ।

त्यसो त यो सबै चाँजोपाँजो महासचिव शंकर पोखरेलले मिलाएको बताइन्छ। दाङ–२ मा गत निर्वाचनमा तत्कालिन माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित पोखरेल यसपटक पनि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको जनलहरले ढुक्क छैनन्। नेकपालाई कुनै हालतमा गठबन्धनका लागि मनाउने प्रयासमा छन्।

संयोजक प्रचण्ड पनि पछिल्लो समय नयाँ दल, विशेष गरी रास्वपाप्रति कठोर देखिन थालेका छन्। अर्थात ओली र प्रचण्डको स्वर एउटै हुन थालेको छ।

ओलीले जेनजी आन्दोलनलाई सुरुदेखि नै विदेशी शक्तिको षड्यन्त्र भन्दै आएका छन्। कुनै बेला रवि–बालेन गणतन्त्रका फूलहरू भन्ने उनै प्रचण्ड पनि यतिबेला उनीहरूलाई विदेशी एजेन्ट देख्न थालेका छन्।

एमाले स्रोतका अनुसार महासचिव पोखरेल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता वर्षमान पुनसँग निरन्तर संवादमा थिए। उनले सकेसम्म फेरि पार्टी एकता, नभए चुनावी सहकार्य नै भए पनि गर्नै पर्ने प्रस्ताव राखेको बुझिएको छ।

नेकपाका एक केन्द्रीय सदस्यले ओली–प्रचण्ड वार्ताको पुष्टि गर्दै दलहरूको आफ्नो चुनावी रणनीतिअनुसार गठबन्धन वा सहकार्यबारे छलफल गर्नु नियमित विषय भएको बताए। पार्टी एकताको विषय भने उनले अस्वीकार गरे।

‘चुनावी सहकार्य त हुनसक्छ दलहरूबीच। यसअघि पनि भएकै हो। पार्टीको आफ्नो स्ट्राटेजी हो कसरी अघि बढ्ने भन्ने कुरा। दलहरूबीच छलफल हुन्छ। नेताहरूबीच कुराकानी हुन्छ। सामान्य प्रक्रिया हो। जहाँसम्म एकताको कुरा छ– केपी ओलीसँग एकता त कल्पना पनि गर्न सकिँदैन,’ उनले भने।

यता एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भने नेकपासँग चुनावी तालमेलबारे अध्यक्ष ‌ओलीले कुनै प्रस्ताव नगरेको दाबी गरेकी छन्।

उनी भन्छिन्, ‘हाम्रो पार्टी अध्यक्षले कसैसँग पनि गठबन्धन वा कुनै प्रकारको सहकार्यको प्रस्ताव गर्नु भएको छैन। मिडिया ट्रायल बन्द गरौं।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!