शुक्रबार, ०६ फेब्रुअरी २०२६

उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको ज्यान गएपछि बोल्यो रास्वपा, कडा निर्देशन जारी

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनावी अभियानका क्रममा रौतहटका उम्मेदवारले प्रयोग गर्ने सवारीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको बताएको छ।

शुक्रबार पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै घटनाले रास्वपा अत्यन्तै स्तब्ध र मर्माहत भएको बताएका छन्।

रास्वपाले भनेको छ, ‘घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं। कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं।’

पार्टीले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारीको परिचालनमा उच्च सतर्कता अपनाउन कडा निर्देशनसमेत जारी गरेको छ।

महामन्त्री बुर्लाकोटीले भनेका छन्, ‘चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत जारी गर्दछौं।’

बिहीबार रौतहट-२ का रास्वपा उम्मेदवार सगिर आलमले चुनावी प्रचारमा प्रयोग गर्ने गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको थियो।

बा१५च ४२४४ नम्बरको क्रेटा गाडीले ईशनाथ नगरपालिका-४, मठिया टोलकी करिब ४ वर्षीया बालिका अलसा खातुनलाई ठक्कर दिँदा उनको ज्यान गएको हो। गाडीका चालक पक्राउ परिसकेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!