बिएल संवाददाता
फागुन २१ गतेको निर्वाचनको मिति नजिकिएसँगै देशभरझैं जुम्लामा पनि चुनावी सरगर्मी बढेको छ। फागुन १८ गते मध्यरातबाट मौनअवधी सुरु हुने हुँदा उम्मेदवारहरूलाई भोट माग्न भ्याइनभ्याइ छ।
तर, नेताहरू मत माग्न जनताको घरदैलोमा पुगिरहेका बेला जुम्लामा केही यस्ता उम्मेदवार पनि देखिएका छन् जसले बारबार पार्टीलाई धोका दिएको भन्दै मतदाता असन्तुष्ट देखिएका छन्।
२०६४ सालको चुनावमा तत्कालिन नेकपा माओवादीका नरेश भण्डारी विजयी भए। जनयुद्धको रापतापमा चुनाव जितेका उनले माओवादी पार्टीको समर्थन र अन्य दलको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न भूमिका खेलेका थिए। तर, यतिबेला उनले प्रत्येक चुनावी भाषणमा आफ्नो एकल योगदानले प्रतिष्ठान बनाएको दाबी गर्दै पार्टीको योगदानलाई अवमुल्यन गरेको भन्दै पार्टीकै कार्यकर्ता असन्तुष्ट देखिएका छन्।
पार्टीको नाम लिन नचाहने र आफैं हर्ताकर्ता देखिने भण्डारी प्रवृत्तिले कार्यकर्ता निरुत्साहित हुँदैजादा परिणामस्वरूप जुम्लामा पार्टी नै कमजोर हुँदै गएको र चुनावी आधार खुम्चिँदै गएको उनीहरूको गुनासो छ।
त्यतिमात्र होइन माओवादी आन्दोलनकै अवमुल्यन गर्दै पार्टी विभाजनमा भुमिका खेलेको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाएकोमा पनि कार्यकर्ताहरू असन्तुष्ट छन्।
तत्कालिन पहिलो संविधान सभा विघटन भएपछि २०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादी विभाजन भएको थियो। मोहन बैद्यले प्रचण्ड समूहबाट अलग्गिएर गरेर नेकपा माओवादी गठन गरेका थिए। त्यो बेला नेता भण्डारी पनि बैद्य समूहको माओवादीतर्फ लागेका थिए।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जितको मुखमा रहेका माओवादी उम्मेदवारले भण्डारीकै कारण पराजय भोग्नुपरेको मान्छन् नेता कार्यकर्ताहरू। भण्डारीको पार्टीविरोधी गतिविधि र आन्तरिक असहयोगका कारण पार्टी पराजित भएको बुझाइ यतिबेला पनि छ उनीहरूमा।
पार्टीले पटक–पटक उनलाई अवसर दिइरह्यो। उनी मन्त्री पनि बने। शीतकालिन राजधानी र मुख्यमन्त्रीको नाराले चुनाव जितेका उनले ती नारालाई कर्णाली प्रदेशको मन्त्री पदसँग साटेर जुम्ली जनताको मतलाई अपमान गरेको मतदाताको बुझाइ छ।
‘नरेश भण्डारीको त्यस्तो व्यवहारले पार्टी मात्रै होइन, जनताको आत्मसम्मानलाई पनि चोट पुर्यायो। मन्त्री हुँदा उनले संसदमा उल्लेखनीय कुनै विधेयक दर्ता गराएनन्। कुनै ठोस नीति प्रस्ताव गरेनन्। तर मन्त्री पद गुमेपछि भने सिंजा सभ्यता र उच्च पर्वतीय विश्वविद्यालयका नाममा नाटक गर्न थाले। जनतालाई भ्रममा राख्ने यस्तो प्रयास धेरै दिन टिक्न सकेन। जनता अब यस्ता चालबाजी बुझ्न थालेका छन्,’ नेकपा जुम्लाका एक स्थानीय नेताले भने।
नेताहरूका अनुसार पटकपटक भण्डारी जित्ने तर, पार्टी हार्ने बरू सिंगो जुम्ला संगठन नै उनको मुट्ठीमा सीमित गर्ने प्रवृत्ति लगातार देखिने गरेको छ। पार्टीले आफूलाई टिकट दिए मैदानमा निस्कने, पार्टीका अरू नेताले टिकट पाए असहयोग गर्ने गरेको उनीमाथि आरोप छ।
‘२०७९ को चुनावमा कांग्रेस र समाजवादीसहित तीन दलको ३६ हजारभन्दा बढी मत हुँदाहुँदै पनि गोमा गौतम कुँवर पराजित हुनु यसको उदाहरण हो। अरु उम्मेदवार हुँदा अनुहार देखाउन र बचाउन मात्रै देखिने भण्डारीका कारण पार्टी बारम्बार हारिरहेको छ,’ नेकपा जुम्लाकै अर्का एक नेताले गुनासो गरे।
पार्टीका शुभेच्छुक संगठनमा पनि उनले विभाजन ल्याएको आरोप लाग्ने गरेको छ। कर्मचारी र प्रेस संगठनलाई कमजोर बनाएकै कारण जुम्लामा सधैं बलियो मानिने प्रेस सेन्टर कमजोर बनेको नेताहरूको बुझाइ छ। पत्रकार महासंघ जुम्लाको चुनावमा पनि प्रेस सेन्टरको प्रभाव घट्दो क्रममा छ।
आफ्ना पकेटका कार्यकर्ता र तिनका परिवारलाई प्रतिष्ठानमा भर्ती गरेर पार्टीका इमान्दार कार्यकर्ताहरूलाई पाखा लगाउने अभ्यास उनले आजका दिनसम्म पनि जारी राखेको प्रेस सेन्टर जुम्लाका नेताहरू बताउँछन्।
भन्छन्, ‘भण्डारीको अन्याय यतिसम्म बढेको छ कि पार्टीका इमान्दार सिपाही र समर्थक निराश भइरहेका छन्। केवल उनका हनुमानहरूको दबदबा छ।’
पार्टीलाई धोका दिएको अर्को प्रकरण हो– पार्टीकै नेतामाथिको जातीय विभेद। २०७९ को स्थानीय चुनावताकाको सो घट्नाले उनलाई हालसम्म पनि लखेटिरहेको छ।
हिमा गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार बन्न चाहेकी कल्पना दमाईलाई भण्डारीको समूहले अपमानजनक शब्द प्रयोग गरी ‘यो तल्लो जातकी ठूली हुन पाउँदिन’ भन्दै टिकट नदिन खोजेपछि सो प्रकरणले त्यतिबेला राजनीतिक महालो तातिएको थियो। स्थानीय नेताहरूको दबाबले दमाईले टिकट त पाइन् तर, उनलाई हराउने खेलमा भण्डारीकै समूह सक्रिय भएर लागेपछि हार व्यहोर्नुपरेको कल्पना पक्षका नेताहरूले सार्वजनिक रुपमै गुनासो गरेका थिए।
तिनै भण्डारी यतिबेला विभिन्न कम्युनिस्ट घटकहरू जोडेर बनेको नेकपाबाट जुम्लामा प्रतिनिधि सभा उम्मेदवार छन्। जुम्लाको विकासका लागि एकता र इमानदारी आवश्यक रहेको भन्दै मतदाताहरू व्यक्तिगत स्वार्थले निर्देशित राजनीति अस्वीकार गर्ने मुडमा देखिएका छन्।
आज भण्डारी फेरि उम्मेदवार बनेका छन्। बारम्बार पार्टी, संगठन र आदर्शलाई कमजोर बनाउने व्यक्तिलाई फेरि अवसर दिनु सही हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ। जुम्लाजस्ता ठाउँमा विकास, एकता र इमानदारी आवश्यक छ। व्यक्तिगत स्वार्थले निर्देशित राजनीति अब जनताले अस्वीकार गर्न थालेका छन्।
नेकपा सिंजाका एक नेताले भने, ‘आगामी फागुन २१ को चुनाव केवल व्यक्ति जित्ने वा हार्ने विषय होइन। यो पार्टीको भविष्य, जनताको सम्मान र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने लडाइँ हो। समयमै चेतना नलिए हरियो घाँसभित्र लुकेका हरियो सर्पले फेरि डस्न सक्छन्। अब जनताले सचेत भएर सही निर्णय लिनु नै आजको मुख्य आवश्यकता हो। भण्डारीले जिते पार्टी हार्छ। उनलाई सबक सिकाउने अन्तिम मौका हो।’
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया