बिहिबार, ०५ मार्च २०२६

आज नयाँ पुस्ताले लेख्दैछ देशको भविष्य

News Image
• • •

नेपाली राजनीतिको सबैभन्दा अन्योल र भयानकतालाई चिर्दै अन्तत: आज प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।

२०८२ साल भदौ २३ गतेको जेनजी विद्रोह, त्यसपछिको नरसंहार र २४ गते भएको देशव्यापी विध्वंशपछि हुन लागेको यो निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउने अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको प्रतिवद्धता आज पूरा हुँदैछ।

जेनजी विद्रोहपछिका २४ घण्टामै तत्कालीन नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनाएको ‘शक्तिशाली’ सरकार ढलेको थियो। त्यसपछि नेपाली सेनाको सक्रियतामा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्री कार्कीले छ महिनाभित्र नयाँ निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नेगरी प्रतिनिधिसभा भंग गरेकी थिइन्।

नियमित रुपमा आगामी २०८४ मंसिरमा हुनुपर्ने निर्वाचन लगभग २ वर्षअघि नै हुन थालेको छ। यो निर्वाचनलाई आवधिक नभनेर ‘आकष्मिक’ निर्वाचन भनिएको छ। खासगरी जेनजी विद्रोहको जगमा हुन लागेको यो निर्वाचनमा यसपालि थुप्रै नयाँ अनुहारहरू छन्। त्यस कारण पनि यो निर्वाचनलाई राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा निकै चासोका साथ हेरिएको छ।

यो निर्वाचनमा काठमाडौंका मेयर पदबाट राजीनामा दिएर झापा-५बाट चुनाव लड्दैछन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगातार जित्दै आएको यो निर्वाचन क्षेत्र यसपालिको सबैभन्दा ‘हट सिट’ हो। त्यस्तै नेपाली काँग्रेसभित्र विद्रोह गरेर विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा सर्लाही ४ बाट चुनाव लड्दैछन्। उनलाई पनि नेपाली काँग्रेसले भावी प्रधानमन्त्रीका रुपमा ‘प्रोजेक्ट’ गरेको छ। यो निर्वाचन क्षेत्रमा यसअघि अमरेशकुमार सिंहले जित्दै आएका थिए। यसपालिको चुनावमा नेपाली काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले टिकट पाएनन्। उनकी श्रीमति आरजु देउवाले पनि टिकट पाएनन्। नेपाली काँग्रेसका कैयौ पुराना नेताहरू यसपालि चुनाव लडेका छैनन्। आधाभन्दा धेरै अनुहार नयाँ छन्। कैयौ कलाकार, सेलिब्रेटीहरू, ब्यापारी तथा पेशागत व्यवसायीहरूसमेत चुनाव लड्न प्रत्यक्ष मैदानमा उत्रिएका छन्। त्यसैले पनि यो निर्वाचन निकै रोचक छ।

सरकारले देशैभरि पूर्णरुपमा शान्तिपूर्ण माहोल भएको भन्दै सक्रियरुपमा मतदानमा सहभागी हुन अपिल गरेको छ। निर्वाचन आयोगले पनि सबै क्षेत्रमा तयारी पूरा भइसकेकाले ढुक्क भएर निर्वाचनमा भाग लिन अपिल गरेको छ। यो निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग तथा निर्वाचन प्रहरीले सुरक्षा दिनेछन्। नेपाली सेनाले हेलिकोप्टरमार्फत संयुक्त हवाई गस्तीको पनि तयारी गरेको छ।  

यसपालिको निर्वाचनमा लाखौं मतदाताले पहिलोपटक भोट हाल्दैछन्। खासगरी यो निर्वाचनमा नवपुस्ताको उत्साह निकै रोचक छ। यो निर्वाचनमा ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पधामा छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन्। त्यसैगरी सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुने छन्। यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता रहेका छन्।

निर्वाचनपछि सबै तयारी गरेर मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिनेगरी तयारी गरेको आयोगले जनाएको छ। त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने जनाइएको छ। दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानको गाडीबाट संकलन गरिने आयोगले जनाएको छ। 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!