आइतबार, ०८ मार्च २०२६

परिवर्तनको लहरसामु सफल हुन सकेनौं- एमाले महासचिव

News Image
• • •

एमाले महासचिव शंकर पोखरेलले ‘परिवर्तनको लहर’ सामु आफूहरूको प्रयास सफल हुन नसकेको भन्दै आफ्ना प्रतिष्पर्धी बिपिनकुमार आचार्यलाई बधाई र उनको राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना दिएका छन्।

उनि दाङ क्षेत्र नं २ बाट उम्मेदवार थिए। त्यहाँ रास्वपाका सहमहामन्त्री बिपिनकुमार आचार्यले अहिलेसम्मकै धेरै मतका साथ बिजयोन्मुख छन्।

पोखरेलले रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेन शाहसहित रास्वपाबाट बिजयी हुने सबैलाई शुभकामना पनि दिएका छन्। बालेन पनि झापा ५ मा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीभन्दा कैयौं गुणा बढी मतका साथ बिजायोन्मुख छन्।

‘आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा आएको छ। जनताले ‘नयाँबाट केही हुन्छ कि’ भन्ने विश्वासका साथ अभिमत दिएका छन्। जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना’ पोखरेलले लेखेका छन्।

‘त्यस्तै उनले आफ्नो क्षेत्रका बिपिनकुमारलाई पनि बधाई र शुभकामना भन्दै निर्वाचनमा खट्ने सबै कार्यकर्ता र शुभेच्छुकहरूलाई पनि धन्यवाद दिएका छन्।

‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन। अभियानमा जुट्नुहुने सबैलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद’ उनले भनेका छन् ‘म उमेद्वार भएको प्रतिनिधि सभा–२ निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन आचार्य निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।’

पोखरेलले मतपरिणामबाट कत्ति पनि निराश नभइ सकारात्मक सोचका साथ निरन्तर लागिरहन पनि अनुरोध गरेका छन्।

‘जिन्दगी हो—हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ’ भन्ने गितको भावझैँ लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हो। निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा हार्दिक अनुरोध गर्दछु’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!