बिएल संवाददाता
आमनिर्वाचन' ८२ मा उम्मेद्वार भएका एमाले पदाधिकारीहरू पूरै बढारिने क्रम जारी छ । केन्द्रीय पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित तीन उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट र पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, तीन सचिव महेश बस्नेत, डा. राजन भट्टराई र भानुभक्त ढकाल पराजित भैसकेका छन् भने दुई उपमहासचिव रघुबीर महासेठ र लेखराज भट्ट र सचिव शेरधन राई पराजित हुने क्रममा छन् ।
पार्टी अध्यक्ष ओली झापा ५ मा रास्वपा उम्मेद्वार बालेन शाहसँग ४९,६१४ मतले पराजित भएका छन् । बालेनले ६८,३४८ मत ल्याउँदा ओलीले १८,७३४ मत मात्र ल्याउन सके ।
महासचिव शंकर पोखरेल दाङ २ मा रास्वपा उम्मेद्वार विपीन आचार्यसँग २८,२७२ मतले पराजित भए । विपिनले ४३,५५९ मत ल्याए भने पोखरेलको मतसंख्या १५,२८७ मात्र रह्यो ।
उपाध्यक्ष विष्णु पौडेल रूपन्देही २ मा रास्वपा उम्मेद्वार सुलभ खरेलसँग ४३,६८९ मतान्तरले पराजित भए । सुलभले ५६,५५० मत ल्याउँदा पौडेलले १२,८६१ मत मात्र ल्याउन सके ।
अर्का उपाध्यक्ष गोकर्ण विष्टले गुल्मी २ मा रास्कवपा उम्मेद्वार गोविन्द पन्थीसँग कडा प्रतिस्पर्धा गरे पनि ५६१२ मतले् पारजित भए । रास्वपा पन्थीले १६,९६७ मत ल्याए भने एमालेका विष्टले १६,४०६ मत ल्याए ।
यसैगरी उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ पनि लम्जुङमा रास्वपा उम्मेद्वारसँगै १७,०२२ मतान्तरले पराजित भएका छन् । रास्वपाका धर्मराज केसीले ३३,८९८ मत ल्याउँदा गुरूङले १६,८७६ मत मात्र ल्याए ।
एमालेका तीन सचिव पनि पराजित भैसकेका छन् । महेश बस्नेत भक्तपुर २ मा रास्वपा उम्मेद्वार राजीव खत्रीसँग ३१,३३८ मतले पराजित भए । खत्रीले ४२,३३४ मत ल्याउँदा बस्नेतले १०,९९६ मत मात्र ल्याए ।
अर्का सचिव डा. राजन भट्टराई त काठमाडौैं ४ मा उपविजेता पनि रहेनन् । रास्वपाका पुकार बमभन्दा उनी २३,४०९ मतले पछाडि परे । उनीभन्दा अगाडि कांग्रेस उम्मेद्वार सचिन तिमल्सेना रहे । बमले २९,१४२ मत ल्याए भने तिमल्सेनाले ८,८२४ र भट्टराईले ५,७३३ मत ल्याए ।
मोरङबाट तेह्रथुम सरेका सचिव भानुभक्त ढकाल पनि पराजित भए । उनी चाँहि कांग्रे उम्मेद्वार सन्तोस सुब्बासँग ८७९ मतले पराजित भए । सु्ब्बाले ११,५६१ मत ल्याए भने ढकालले १०,६८२ मत ल्याए ।
अर्का सचिव शेरधन राई भोजपुरमा दोस्रो स्थानमा छन् । उनले ७,३८३ मत पाएका छन् भने श्रम संस्कृति पार्टीका ध्रुवराज राई ८,७९८ मतका साथ अग्रस्थानमा छन् । ध्रुवराजभन्दा शेरधन १,४१५ मतले पछाडि छन् ।
उपमहासचिव रघुबीर महासेठ पनि धनुषा ४ मा पराजित हुने सुनिश्चित छ । प्राप्त पछिल्लो मतगणनाअनुसार महासेठ ७,३४८ मतका साथ तेस्रो स्थानमा छन् । यस क्षेत्रमा रास्वपाका राजकिशोर महतो ३२,५९३ मतका साथ अग्रस्थानमा छन् भने कांग्रेसका महेन्द्र यादव ११,८४४ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेद्वार महासेठले रास्वपा उम्मेद्वार महतोको भन्दा २५,२४५ मत कम ल्याएका छन् ।
अर्का उपमहमासचिव लेखराज भट्ट कैलाली ४ मा ५,९७२ मतका साथ तेस्रो स्थानमा छन् । रास्वपाका खेमराज कोइराला २०,८४८ मतका साथ अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ७,६८६ मत ल्याएर पछ्याइरहेका छन् । रास्वपाका कोइरालाभन्दा एमालेका भट्ट १४,८७६ मतले पछाडि छन् । रास्वपाको प्रचण्ड सुनामी चलेको यतिबेला एमालेका भट्ट यहाँ जोगिने कुनै सम्भावना नै छैन ।
नेकपा एमालेको शर्मनाक हार भएको छ । यो हारको जिम्मा कसले लिने ? अहिलेसम्म एमालेको तर्फबाट कोही बोलेको छैन र बोल्नेवाला पनि छैन । बोल्नुपर्ने पार्टी सुप्रिमो ओलीकै सातो गएको छ ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया