सोमबार, ०९ मार्च २०२६

ओलीलाई अध्यक्षबाट हटाउन विष्णु पौडेलको दौडधुप

News Image
• • •

फागुन २१ गतेको आमनिर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि एमालेभित्र नेतृत्व परिवर्तको बहस तीव्र पारिएको छ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी ओलीलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि बाध्य पार्न आफैंले अग्रसरता लिएका छन्। पौडेलले सोमबार विज्ञप्ति नै जारी गर्दै पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अपिल गरेका छन्। उनी आफैं पनि रुपन्देही २ बाट पराजित भएका थिए।

पौडेलले पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैंलाई रुपान्तरण गर्न आग्रह गरेका हुन्।

ओलीलाई सम्मानपूर्वक राजीनामा गराउने नभए जबरजस्ती बहिर्गमन गराउने रणनीतिअनुसार नेताहरूले आन्तरिक छलफल थालिसकेको उनीनिकट एक नेताले बताए।

पौडेलले एमालेको बागडोर आफैंले लिने तयारीसहित उपमहासचिव योगेश भट्टराई, उपाध्यक्ष गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङसहित ११औं महाधिवेशनमा अध्यक्षमा पराजित नेता ईश्वर पोखरेलसँग आन्तरिक छलफल गरेका छन्।

उनीनिकट विश्वस्त स्रोतले बताएका अनुसार पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सम्पर्कमा छिन्। उनलाई ओलीले अपमानजनक रुपमा पार्टीमा बन्देज लगाएका थिए।

विष्णु पौडेलले नेताहरूसँग ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउन निर्णायक भुमिका खेलेकोमा आत्मालोचना गर्दै ओलीलाई अगाडि सार्नु पार्टीका लागि प्रत्युत्पादक हुने नसोचेको बताएका छन्।

उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमार्फत निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्। पार्टीका नेता–कार्यकर्तालाई खुला बहस र रूपान्तरणको बाटोमा लाग्न आह्वानसमेत गरेका छन्।

भट्टराईले पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमा कुरा गरेको र त्यत्तिकै संख्यामा सन्देशहरू पढेको उल्लेख गरेका छन्। ती संवादहरूमा पार्टीका कार्यकर्ता र शुभेच्छुकबाट सुझाव, टिप्पणी, विरोध, आक्रोश, हतासा, निराशा, सम्भावना र उपायका विविध धारणा आएको उनले बताएका छन्। धेरैले आफूले बोल्न र पहल लिनुपर्ने दबाब तथा प्रेरणा दिएको पनि उनले उल्लेख गरेका छन्।

उनले हालको निर्वाचन परिणामलाई जनताले पार्टीको नीति र नेतृत्वप्रति दिएको शान्तिपूर्ण अस्वीकृति भएको स्वीकार गरेका छन्। यस्तो अवस्थाबाट बाहिरिन पार्टीभित्र सर्वांगीण रूपान्तरणमार्फत जनसमर्थन पुनः आर्जन गर्नुपर्ने उनको धारणा छ।

भट्टराईले पार्टीको पराजयको जिम्मा केन्द्रीय नेतृत्वले लिनुपर्ने उल्लेख गर्दै भनेका छन्, ‘कमरेडहरू, हामी ढलेका मात्र हौं, मरेका होइनौं। सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत् हामी उठने छौँ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने छौं।’

उपाध्यक्ष पौडेलनिकट स्रोतका अनुसार गत महाधिवशेनमा अन्तिमसम्म तटस्थ रहेका र अन्तिममा संस्थापनतर्फ खुलेका नेताहरू पनि निरन्तर सम्पर्कमा छन्। नेताहरू सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापाहरू पनि निरन्तर सम्पर्कमै रहेको बताइएको छ। नेता प्रदीप ज्ञवाली पनि विष्णु पौडेलको कित्तामा आउन सक्ने संकेत देखिएको छ।

यता संस्थापन पक्ष भने रक्षात्मक देखिएको छ। महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, सचिव राजन भट्टराई,  विष्णु रिमाल, पद्मा अर्याल, भानु ढकाल, महेश बस्नेत, हिक्मत कार्कीलगायत नेताहरू नेतृत्व परिवर्तनको विषय उठान गर्न नहुने अडानमा देखिएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!