मङ्गलबार, १७ मार्च २०२६

तेलको बाटोमा फँसेका ट्रम्प, अब चीनसँग माग्दैछन् सहयोग

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विश्वशक्ति राष्ट्रसँग हर्मुज स्ट्रीट खोल्नका लागि सहयोग मागिरहेका छन्। यसअघि कुनै पनि राष्ट्रहरूसँग ब्यापारयुद्ध छेडेंका ट्रम्प यसपालि भने इरान युद्धका कारण निकै दबावमा छन् र बरु राष्ट्रहरूसँग सहयोग मागिरहेका छन्। तर निकै धम्की र चेतावनीपूर्ण भाषामा।

दुई साताअघि इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेर त्यहाँका सर्वोच्च नेतालाई समेत मारिदिएका थिए। त्यसपछिका दिनमा पनि आक्रमण जारी छ भने इरानले इजरायलसहित खाडीका सबैजसो राष्ट्रहरूमा पनि आक्रमण गरिरहेको छ।

युद्धमा अमेरिकालगायत विश्वलाई गलाउनका लागि इरानले विश्वबजारमा सबैभन्दा महत्वपूर्ण मानिने तेलको बाटो हर्मुज स्ट्रीट बन्द गरिदिएको छ। त्यसलाई खुलाउनका लागि अब अमेरिकालाई निकै दबाव छ। विश्वको लगभग २० प्रतिशत कच्चा तेल आयात निर्यात हुने यो बाटोको विकल्प अहिलेसम्म छैन। जसलाई इरानले चाह्यो भने आफ्नो सामुद्रिक क्षेत्रमा रोकिरहनसक्छ। त्यो उसको अधिकार पनि हो। किनकी त्यो उसकै भूभाग हो।

यसरी दबाव खेप्दै गएपछि ट्रम्पले चीन,रुसलगायत थुप्रै युरोपेली शक्ति राष्ट्रहरूलाई उक्त बाटो खोल्नका लागि इरानलाई दबाव दिन वा अरु कुनै उपायका लागि पहल गर्न अपिल गरेका थिए। त्यस्तै उनले ती राष्ट्रहरूलाई हर्जुम स्ट्रीटमा युद्धपोत र लडाकु सैनिकहरू तैनाथ गरेर भए पनि तेल ट्याङ्करहरूको सुरक्षा गर्न भनेका थिए। तर कसैले पनि उनको प्रस्तावलाई निशर्त स्विकारेका छैनन्।

त्यसपछि उनले हालैको एक अन्तर्वार्तामा हर्मुजको बाटो खुलाउन मदत नगरे युरोपेली राष्ट्र र नेटो संगठनको भविष्य सबैभन्दा खराब हुने धम्की पनि दिए। त्यस्तै उनले त्यसमा सहयोग नगरेर आगामी साता चीनका राष्ट्रपति हुने भनिएको भेटवार्ता स्थगित हुनसक्नेसमेत चेतावनी दिए। आगामी साता ट्रम्पले चीनको भ्रमण गर्दैछन्। त्यसअघि उनले चिनियाँ राष्ट्रपति सी चीनफिङले हर्जुम स्ट्रीटमा सहयोग गर्न तयार नभए उक्त भेटवार्ता रोकिन पनि सक्ने चेतावनी दिएका थिए।

यसबारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लीन जियानले ट्रम्पको यात्राबारे कुराकानी भइरहेको र दुई देशको सम्बन्धको नयाँ दिशा तय गर्न त्यो यात्रा जरुरी भएको पनि बताए।

तर उनले इरान युद्ध र हर्मुज स्ट्रीटका बारेमा खुलेर भने केही बताएनन्।

‘दुई देशका नेताबीच हुने भेटवार्ताले कैयौ अर्थहरू राख्छन्। त्यसले दुई देशबीच सम्बन्धको आगामी दिशा तय गर्न मदत पनि गर्छ। उनले एउटा पत्रकार सम्मेलनमा भने ‘हालैको यो युद्धका कारण विश्व ब्यापारिक मार्गमा अवरोध आउको छ। त्यसले क्षेत्रीय तथा वैश्विक शान्तिलाई पनि असर परिरहेको छ। चीनले फेरि पनि सबै पक्षलाई अपिल गरिरहेको छ कि तुरन्त सैन्य कारबाही बन्द होस्। चीन तनाव कम गर्नका लागि सधै प्रतिवद्ध छ।’

त्यस्तै ब्रिटेनका प्रधानमन्त्री किएर स्टार्मरले ट्रम्पले भनेजस्तै हर्मुजको बाटो त्यत्ति सजिलो र सिधा मुद्दा नभएको बताएका छन्। ट्रम्पको चेतावनीपछि पत्रकारहरूले मागेको प्रतिक्रियामा उनले त्यसबारेमा ट्रम्पसँग कुराकानी भइरहेको र उनिसँगको सम्बन्धमा कुनै आँच नआएको पनि बताए।

‘यो सबैलाई थाहा भएको कुरा हो कि हर्मुज स्ट्रीट भनेजस्तो सजिलो र सिधा मुद्दा होइन। तर ट्रम्पसँग मेरो राम्रो कुराकानी भइरहेको छ। हाम्रो सम्बन्धमा केही भएको छैन’ उनले भने।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!