बिएल संवाददाता
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नियमित उडान नगरेको भन्दै आक्रोशित यात्रुहरूले आइतबार जुम्लास्थित निगमको कार्यालयमा तालाबन्दी गरेका छन्।
फागुन २४ गतेदेखि जहाजले उडान नगरेपछि आजित भएका सर्वसाधारण र यात्रुहरूले कार्यालयमा ताला लगाएका हुन्। नेपाल एयरलाइन्सले अन्य जिल्लाहरूमा नियमित उडान भरिरहेको भए पनि जुम्लामा भने बारम्बार हुन्छ भन्दै झुक्याउने गरेको यात्रुहरूको आरोप छ।
आइतबार उडान हुने जानकारी पाएर विमानस्थल पुगेका यात्रुहरू अन्तिम समयमा उडान रद्द भएको सूचना पाएपछि आन्दोलित भएका हुन्।
उडान नहुँदा सबैभन्दा बढी मर्कामा बिरामीहरू परेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि बाहिर रेफर गरिएका गम्भीर बिरामीहरू जहाज कुरेर छटपटाइरहँदा पनि निगमले उडानमा संवेदनशीलता नदेखाएको यात्रुहरूको गुनासो छ।
‘अन्य जिल्लामा उडान भइरहेको छ, तर जुम्लामा सधैं प्राविधिक कारण देखाएर उडान रद्द गरिन्छ,’ एक आक्रोशित यात्रुले भने, ‘बिरामीको ज्यान जोखिममा छ, यस्तो अवस्थामा पनि सरकारी जहाजले जिम्मेवारी पुरा नगरेपछि हामी तालाबन्दी गर्न बाध्य भयौं।’
लामो समयदेखि सरकारी जहाजले उडान नभर्दा जुम्लावासीले सास्ती खेप्नुपरेको छ। निगमले तत्काल नियमित उडानको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने यात्रुहरूले चेतावनी दिएका छन्।
विमानस्थलमा हप्तौंदेखि जहाज कुरिरहेका सिकिस्त बिरामीहरूको अवस्था निकै दयनीय बनेको छ। डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाकी भगवती रोकाया स्तनको शल्यक्रिया गरेर थप उपचारका लागि काठमाडौं जाने प्रतिक्षामा नौ दिनदेखि विमानस्थल धाइरहेकी छन्।
त्यस्तै, जुम्ला तातोपानी–४ की २४ महिने गर्भवती संगीता सार्की एक हप्तादेखि जहाज कुरिरहेकी छन्। चन्दननाथ नगरपालिकाका कालीबहादुर रावल लगायत अन्य दर्जनौं बिरामीहरू टिकट पाएर पनि उडान नहुँदा छटपटिन बाध्य छन्।
समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले तदारुकता देखाएको छ। जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलले अहिले नै नेपाल वायुसेवा निगम र सरोकारवाला पक्षसँग छलफल गरी उडान सुचारु गराउन पहल भइरहेको जानकारी दिए।
विमान सेवा अवरुद्ध हुँदा कर्णालीका विकट जिल्लाका जनताले ज्यान जोखिममा राखेर महँगोमा निजी जहाज वा कठिन सडक यात्रा रोज्न बाध्य भएको स्थानीयको गुनासो छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया