बिहिबार, ०९ अप्रिल २०२६

देउवा चाँडै फर्किंदैछन्, आरजुचाहिँ ‘भन्न सकिन्न’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

पक्राउपूर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किने तयारीमा छन्। सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले अदालतबाट उनि र उनकी पत्नी आरजु देउवाविरुद्ध पक्राउपूर्जी लिएपछि देउवा नेपाल आउने तयारीमा जुटेका हुन्। हाल उनि हङकङमा छन्।

गत फागुन १३मा शेरबहादुर देउवा सिङ्गापुर गएका थिए। त्यसअघि नै पत्नी आरजु भने भारत गएकी थिइन् र पछि उनि पनि सिङ्गापुर पुगिन् त्यसको केही दिनपछि उनिहरू दुबैजना हङकङ गएका थिए। हाल उनिहरू उतै छन्।

नेपालमा अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन सम्पत्ति सुद्धिकरण विभागलाई अनुमति दिइसकेको छ। देउवा दम्पत्ति आफै नआए प्रहरी प्रधान कार्यालयमार्तफ इन्टरपोलबाट नोटिस् जारी गर्ने तयारीसमेत भइरहेका बेला देउवा नेपाल फर्किने तयारीमा लागेको पारिवारिक स्रोतले बताएको छ।

बुधबार देउवाले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै आफू अझै पनि औषधिउपचारका लागि विदेशमै रहेको र अझै केही दिन उपचार जारी रहने बताएका छन्। तर उनले त्यहीँबाट आफू नजिकका कानुन व्यवसायीहरूसँग पनि छलफल गरिरहेका छन्। जेनजी आन्दोलनका क्रममा उनको घर पनि आगजनी भएको थियो। त्यसबेलामा उनको घरमा पैसा जलेको भिडिओहरू सार्वजनिक भएका थिए। आन्दोलनकै क्रममा देउवा दम्पत्तिमाथि कुटपिट पनि भएको थियो र महिना दिनसम्म उनिहरूले सैनिक रेखदेखमै उपचार गराएका थिए। त्यसपछि थप उपचारका लागि त्यो बेला पनि सिङ्गापुर गएका थिए।

जलेको घर भत्काउने क्रममा नयाँ सरकार गठन भएपछि सरकारले उनको घर भत्काउन रोक लगाउँदै नियन्त्रणमा लिएको थियो। लगत्तै उनिमाथि सम्पत्ति सुद्धिकरणको अनुसन्धान सुरु भएको हो। यसअघि त्यही जेनजी आन्दोलनलाई दमनका लागि दोषी देखिएका तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक हिरासतमै छन्।

हाल हङकङमा रहेका देउवाले आफूमाथि लगाइएको आरोपहरू उतैबाट खण्डन गरेका छन्। सामाजिक सञ्जालमा उनले आफू र आफ्नो परिवारविरुद्ध भ्रमहरू छरिएको भन्दै सबै कुराहरू समयक्रमसँगै खुल्दै जाने पनि बताएका छन्।

‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ’ उनले लेखेका छन् ‘मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ। भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ। स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु। बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ। अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।’

चुनावअघि नै सिङ्गापुर उडेका देउवा दम्पत्ति उतैबाट हङकङ गएका थिए। यता पक्राउपूर्जी जारी भएपछि अनुसन्धानमा सघाउन भन्दै देउवा फर्किने तयारी गरिरहेका छन्। तर उनकी पत्नी आरजु राणा देउवा भने आउने नआउनेबारे निश्चित छैन। आरजुमाथि अरु पनि मुद्दाहरू ब्यूँझाउने तयारीमा सरकार रहेको छ।

‘देउवाजी चाँडै आउने तयारीमा लाग्नुभएको छ। फलोअप चेकजाँच पनि बाँकी भएका कारण केही दिन लाग्नसक्छ’ उनका एकजना निकट सहयोगी भन्छन् ‘तर आरजु भाउजु आउने वा नआउनेबारे केही थाहा छैन। उहाँसँग सम्पर्क हुन सकेको छैन।’

यसअघि आरजु नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि मुछिएकी थिइन्। तर त्यो बेला उनिमाथि कुनै अनुसन्धान भएको थिएन। निर्वाचनपछि नयाँ सरकार आएपछि राजनीतिक दलका नेताविरुद्धका पुराना मुद्धाका फाइलहरू पनि धमाधम खुल्न थालेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!