सोमबार, १३ अप्रिल २०२६

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूतबीच भेटवार्ता

News Image
• • •

गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि चीनका राजदूत चाड माओमिङ बीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

सोमबार गृहमन्त्रालयमा भएको भेटवार्तामा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याए। उनले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकार सधैं सचेत रहेको पनि बताए।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा भिसा नवीकरण नगरी अवैध रूपमा बसेका चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेका थिए।

यसैगरी, चीनको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग निर्माण अघि बढाउन तथा द्विपक्षीय व्यापार सहजीकरणमा थप पहल गर्न पनि गृहमन्त्रीले आग्रह गरे।

दुवै पक्षबीच नेपाल–चीन सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउने विषयमा समेत छलफल भएको थियो। उक्त विषयमा चिनियाँ पक्षले सकारात्मक धारणा राख्दै नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्न तत्पर रहेको जनाएको छ।

साथै, पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकाबाट हुने आवतजावतमा समस्या आएको भन्ने समाचारप्रति चिन्ता व्यक्त गरिएको थियो। यसबारे राजदूत माओमिङले सीमाक्षेत्रमा कुनै अवरोध नरहेको स्पष्ट पार्दै त्यस्ता समाचार भ्रामक रहेको बताएका छन्।

‘गृहमन्त्रीज्यूले आफ्नो पछिल्लो भ्रमणपश्चात् सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाका हुँदै आवत-जावत गर्ने मालवाहक गाडीहरूको आवागमन असहज भएको भनी विभिन्न सञ्चार माध्यमबाट प्रसारित समाचारका सम्बन्धमा जिज्ञासा राख्नु भएकोमा महामहिम राजदूतले सिमानाकामा चिनियाँ पक्षबाट कुनैपनि असहजता नरहेको र त्यस्तो समाचार गलत रहेको व्यहोरा स्पष्ट गर्नुभयो,’ गृहमन्त्रीको सचिवालयले भनेको छ।

भेटवार्तामा दुवै देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्दै भविष्यमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने सहमति व्यक्त गरिएको गृहमन्त्रालयले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!