मङ्गलबार, १४ अप्रिल २०२६

वर्ष २०८२ नेपाली राजनीतिको पात्रोमा एउटा पुस्ताले लेखेको इतिहास

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

वर्षको अन्तिमतिर अर्थात् २०८१ सालको चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनको विध्वंशसँगै नयाँ वर्ष अर्थात् २०८२ सुरुवात भएको थियो।

त्यो नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाएको जम्मा ३ महिनामात्रै भएको थियो। संसदका तत्कालीन सबैभन्दा ठूला दुई दल मिलेर बनेको त्यो सरकारका पतनका दिनहरू २०८२ सँगै सुरु भएका थिए।

राजनीतिक खिचातानीका बीच वर्षाले निम्त्याएको विपदसँगै ओली सरकारका पहिला नौ महिना बितिसकेका थिए। ओली सरकारले सरकारले सामाजिक सञ्जाल विधेयक र प्रति-जासूसी विधेयक सहित धेरै प्रतिबन्धात्मक विधेयकहरू ल्याउने र त्यसलाई लागु गर्ने प्रयास गरिरहँदा राजनीतिक दलबीचका विवादहरू सतहमा आइसकेका थिए।

एमालेभित्र नेतृत्व हस्तान्तरण र नेपाली काँग्रेसभित्र पुस्तान्तरणको विवादहरू चर्किरहेका थिए। एमालेभित्र पूर्व राष्ट्रपतिको राजनीतिक सक्रियताले आँधी ल्याइसकेको थियो। तर ओली आफै अध्यक्ष बनेर फेरि त्यसलाई थन्को लगाउने कोसिस गरे।

त्यहीबीचमा सरकारले सामाजिक सञ्जालका कतिपय प्लेटफर्महरू बन्द गर्न सुरु गर्‍यो त्यही नै ओली सरकारको पतनको स्पष्ट विन्दु बन्यो।

सरकारले सामाजिक सञ्जालका प्लेटफर्म चलाउने अन्तर्राष्ट्रिय कम्पनीहरू राज्यको कानुनी दायरामा ल्याउने नाममा सामाजिक अभिव्यक्तिहरू थुन्ने कोसिस गरिरहेको थियो। तर इन्टरनेटसँगै जन्मिएको नयाँ पुस्ताले सरकारभन्दा पनि कैयौ कदम अघि बढेर भित्रभित्रै इन्टरनेट क्रान्तिको आँधी फुकिसकेका थिए।

२०८२ साल भदौ २३ गते माइतीघर मण्डलामा जेनजी पुस्ताका कलिला पाइलाहरू नेताहरूको ‘नेपो बेबी’ प्रेमविरुद्ध अघि बढ्दै थिए। तिनै पाइला संसद भवन पुग्दा नपुग्दा काठमाडौं रक्तरञ्जित हुनपुग्यो। ७६ भन्दा धेरै कलिला ज्यानहरू मासिए। अर्को दिन भदौ २४ मा संसद भवनमात्रै होइन, सिंहदरबार र सर्वोच्च न्यायालयसहित देशका कैयौं धरोहर र सम्पत्तिहरू धुँवाधुँवा भएर खरानी भए।

अहंकारले भरिएको ठूला दलहरूको शक्तिशाली सरकार २४ घण्टा नबित्दै गर्ल्याम्मै ढल्यो। देशमा मडारिइरहेको धुँवासँगै कैयौ दिनसम्म अनिश्चितताको तुँवालो देशमा पुत्ताइरह्यो।

भदौ २७ मा पूर्वप्रधानन्यायाधीश सुशिला कार्की नेपालकी पहिलो महिला अन्तरिम प्रधानमन्त्री नियुक्त भइन्। संसद् विघटन गरी २०८२ फागुन २१ गते निर्वाचन घोषणा भयो।

योबीचमा राजनीतिक दलहरूभित्रै पनि धेरै उथलपुथल भयो। पुस्तान्तरणका लागि काँग्रेसभित्र हुर्रिरहेको झिल्को २०८२ पुस अन्तिमतिर विशेष महाधिवेशनको आगो बनेर दन्कियो। काँग्रेसमा गगनपुस्ता नेतृत्वमा आयो। यद्यपि अहिले पनि काँग्रेसको आधिकारिकता विवाद अदालतले टुङ्ग्याइसकेको छैन।

पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व परिवर्तन र पुस्तान्तरणको बाटो थुन्नका लागि कैयौ टुक्र कम्युनिष्टहरूलाई एकै ठाउँमा ल्याए। माओवादीलाई मासेर उनले ‘नेपाली कम्युनिष्ट पार्टी’ बनाए।

२०८२ साल समग्रमा नेपाली राजनीतिको एउटा विरासत अन्त्य भएको वर्षका रुपमा रह्यो। २०७९ सालको निर्वाचनमा केही सिटमात्रै ल्याएर संसदीय यात्रा थालेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावमा मात्रै राजनीतिको पुरानो अध्याय समाप्त पारेन बरु राजनीतिदेखि विरक्तिएका युवाहरूलाई राजनीतिको मूल राजमार्गमा दौडाउने एउटा ऐतिहास आयाम पनि सुरुवात गर्‍यो।

काठमाडौंको मेयरबाट राजीनामा दिएर बालेन साह प्रत्यक्ष राजनीतिमा जोडिए। राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई ‘प्रधानमन्त्री’का रुपमा प्रोजेक्ट गर्‍यो। भित्रभित्र रन्किरहेको ‘घण्टी’को त्यो ध्वनीले फागुन २१ गते नेपाली राजनीतिमा एउटा भयंकर स्वरांकन गर्‍यो।

गगनलाई प्रधानमन्त्रिका रुपमा अघि सारेर चुनावमा होमिएको ‘नयाँ’ काँग्रेसको इतिहासमा सबैभन्दा नमीठो हारको परिणाम लेखियो। स्वंय पार्टी सभापति थापा पनि पराजित भए। मधेसका सारा क्षेत्रीय दलहरू नभेटिनेगरी बरालिए। हर्क साम्पाङको नयाँ राजनीतिक यात्रा सुरुवात भयो। नेकपा एमालेको हालत अझ धेरै खराब भयो। ओलीलाई उनकै क्षेत्रमा पुगेर बालेनले चुनौती दिए। बर्षौंसम्म ओलीको एकाधिकार ‘किल्ला’ बालेनले केही दिनमै ढालिदिए, त्यो पनि सानदार परिणाम सहित।

वर्षको अन्त्यतिर नयाँ सरकार बन्यो। बालेन प्रधानमन्त्री भए। सरकार गठन भएको केही घण्टाभित्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकजस्ता शक्तिशाली राजनीतिज्ञहरू पक्राउ परे। काँग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीविरुद्ध पक्राउपूर्जी जारी भयो। कैयौं शक्तिशाली नेताविरुद्धका फाइलहरू फेरि खुलेका छन्।

समग्रमा वर्ष २०८२ मात्रै नेपाली इतिहासको एउटा पात्रोका रुपमा मात्रै सिमित रहेन। बितेको वर्ष समग्र नेपालको एउटा नयाँ चित्र कोरेर विदा भएको छ। आफ्नै देशमात्रै होइन समग्र विश्वमा परिवर्तनको एउटा मानक बनेको वर्ष २०८२ नेपाली राजनीतिक इतिहासमा अविष्मरणीय सिङ्गो पुस्तक पनि हो।

नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना…

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!