आइतबार, १९ अप्रिल २०२६

दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा

News Image
• • •

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा सीआईबीले बिचौलिया दीपक भट्टलाई पक्राउ गरेपछि उनीसँग जोडिएका व्यापारी, व्यवसायीहरूको भागाभाग सुरु भएको छ।

विभागले हिमालय हिमालयन रि–इन्स्योरेन्समा सम्पत्ति शुद्धीकरण भएको अभियोगमा अनुसन्धान सुरु गरेपछि सञ्चालक समितिको संस्थापक अध्यक्षबाट राजीनामा दिएका व्यवसायी शेखर गोल्छा लगत्तै स–परिवार विदेश भ्रमणमा गएर फर्किएको खुलेको छ।

राजीनामा लगत्तै भुटान भ्रमण निस्केका गोल्छा प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेपछि नेपाल फर्किएको विभाग स्रोतको दाबी छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छामाथि आफू अध्यक्ष रहेको हिमालयन रिको रकम कानुन विपरित व्यक्तिगत खातामा ट्रान्सफर गरी सम्पत्ति शुद्धीकरणमा सघाएको आरोप लागेको छ। गोल्छा अध्यक्ष रहेकै बेला शेयरधनी दीपक भट्टलाई दोस्रो बजारमा सेयर खरिद गरी सम्पत्ति शुद्धीकरणमा सघाउन भुमिका खेलेको विभागको दाबी छ। उनले कम्पनीको बोर्डबाटै गैरकानुनी निर्णय गराएको खुलेको छ।

सम्पत्ति शुद्धीकरणको छानबिनमा भट्टसहित आफूपनि तानिपछि ०८२ फागुन २५ गते राजीनामा दिएर गोल्छा कम्पनीबाट बाहिरिएका हुन्। उनको राजीनामा चैत ५ गतेको बोर्ड बैठकले स्वीकृत गरिसकेको छ।

सम्पत्ति शुद्धीकरणमा चित्तबुझ्दो बयान दिन नसकेका गोल्छालाई दोस्रो चरणको बयानमा पनि बोलाउने तयारी रहेको विभाग स्रोतले बतायो। विभागले बयान लिएपछि छट्‍पटिएका गोल्छा यतिबेला अनुसन्धान प्रभावित पार्ने चलखेलमा लागेका छन्। अनुसन्धानबाट उन्मुक्ति पाउन राजनीतिक लबिङ गरिरहेका अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्।

‘शेखर गोल्छासहित सञ्चालकहरूसँग बयान लिने काम जारी छ। उनको एक चरणको बयान लिइएको छ। प्रारम्भिक अनुसन्धान नै उनको कनेक्सन पुष्टि हुन्छ। उनीलगायतमाथि सम्पत्ति शुद्धीकरण, बिमा र बैंकिङ कसुरसँग सम्बन्धित कसुरमा अनुसन्धान हुँदैछ। यसपटकको अनुसन्धान यसअघिका जस्तो हुँदैन। सोर्सफोर्सले काम गर्नेवाला छैन। पार लगाएरै छोड्छौं,’ स्रोतले भन्यो।

हिमालयन रि—इन्स्योरेन्समा सम्पत्ति शुद्धीकरण भएको भन्दै ०७८ असार २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेविसंघसहित तत्कालीन पाँच विद्यार्थी संगठनले उजुरी दिएका थिए। सोही प्रकरणमा अख्तियारसहित सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग र सीआईबीमा उजुरी परेको छ।

जेनजी आन्दोलनपछि बनेको तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले सो प्रकरणमा अनुसन्धान गर्ने निर्णय गरेको थियो। सम्बन्धित निकायहरूले उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बिमा र बैंकिङ कसुरसँग सम्बन्धित कसुरमा अनुसन्धान गरिरहेका छन्।

गोल्छा अध्यक्ष रहेको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले हिमालयन रिमा २० लाख ८० हजार कित्ता सेयर लगानी गरेको छ। राजनीतिक पहुँचका आडमा आपराधिक साम्राज्य खडा गरेका भट्ट भने इन्फिनिटी होल्डिङ्सका अध्यक्ष हुन्। भट्टकै अगुवाईमा स्थापना भएको हिमालयन रिमा गोल्छा स्थापना कालदेखिकै अध्यक्ष थिए।

उनी अध्यक्ष रहेकै समयमा हिमालयन रिको २ अर्ब २१ करोड ९७ लाख १ हजार ४४८ रुपैयाँ दिपक भट्टको नाममा दोस्रो बजारमा सेयर खरिद गर्न प्रयोग भएको अनुसन्धानबाट खुलेको छ। प्रचलित कुनै पनि कानुनमा कुनै पनि संस्थाले आफ्नो कोष कुनै व्यक्तिगत लगानीमा प्रयोग गर्न पाउने व्यवस्था नरहेको कानुनका जानकारहरू बताउँछन्। यदी त्यस्तो भएको भए गम्भीर कानुनी उल्लंघन मानिन्छ।

रकम दुरुपयोगमा भट्टसँगै जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवालको पनि साँठगाँठ देखिएको छ। उनीहरू व्यवसायिक साझेदारसमेत हुन्। सम्पत्ति शुद्धीकरण विभाग स्रोतका अनुसार नेपालमा रहने आर्थिक स्रोतहरू सबै अग्रवालको नाममा रहने र सो रकम भट्टको नाममा सिंगापुरदेखि हङकङ, दुबई जस्ता मुलुकमा लगेर लगानी गर्ने वा लुकाउने गरेको प्रमाण नै फेला परेको छ।

स्रोतका अनुसार गोल्छासहित भट्ट, अग्रवाल, रोहित गुप्ता, अमित मोर लगायतको समूहले शेयर कर्नरिङका लागि एउटा छुट्टै समूह बनाएर मिलेमतोमा कुनै कम्पनीको शेयर मूल्य उछाल्ने र वार्षीक हिसाबकिताब गरी भागबण्डा गर्ने गरेको खुलेको छ।

यता व्यवसायीहरूले भने अग्रवाल, गोल्छालगायत व्यवसायिक घरानामाथि धरपकड भए नेपालमा व्यवसायहरूका साथै बैंक तथा वित्तिय संस्थाहरू नै धारासायी हुने चेतावनी दिएका छन्। सोही कारण सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई थुनामुक्त गर्नुपरेको विभाग स्रोत बताउँछ। अग्रवाल परिवारको बिचौलिया दीपक भट्टसँग साझेदारी देखिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!