बिएल संवाददाता
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) व्यवसायी शेखर गोल्छालाई नियन्त्रणमा लिएर भैरहवाको एक होटलमा राखेको छ।
गोल्छालाई पक्राउ गर्न भैरहवा पुगेको सीआईबीको टोलीले उनी बसेको होटलमा नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको सीआईबी उच्च स्रोतले बतायो। उनलाई सोधपुछपछि त्यहीँबाट छोड्ने तयारी गरेको स्रोतले बताएको छ।
यसअघि सीआईबी टोलीले गोल्छाले सीमापार गरेर भारत भाग्ने गोप्य सूचना पाएपछि निगरानी गरिरहेको थियो। स्रोतले उनलाई आज भैरहवाबाट पक्राउ गरिएको बताएको केही समयमै छोड्ने तयारी गरेको हो।
विभागले हिमालयन रि–इन्स्योरेन्समा सम्पत्ति शुद्धीकरण भएको अभियोगमा बिचौलिया दीपक भट्टलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि सञ्चालक समितिको संस्थापक अध्यक्षबाट राजीनामा दिएका गोल्छाले मुद्धा मिलाउन राजनीतिक लबिङ थालेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छामाथि आफू अध्यक्ष रहेको हिमालयन रिको रकम कानुन विपरित व्यक्तिगत खातामा ट्रान्सफर गरी सम्पत्ति शुद्धीकरणमा सघाएको आरोप लागेको छ। गोल्छा अध्यक्ष रहेकै बेला शेयरधनी दीपक भट्टलाई दोस्रो बजारमा सेयर खरिद गरी सम्पत्ति शुद्धीकरणमा सघाउन भुमिका खेलेको विभागको दाबी छ। उनले कम्पनीको बोर्डबाटै गैरकानुनी निर्णय गराएको खुलेको छ।
सम्पत्ति शुद्धीकरणको छानबिनमा भट्टसहित आफूपनि तानिपछि ०८२ फागुन २५ गते राजीनामा दिएर गोल्छा कम्पनीबाट बाहिरिएका हुन्। उनको राजीनामा चैत ५ गतेको बोर्ड बैठकले स्वीकृत गरिसकेको छ।
सम्पत्ति शुद्धीकरण विभागले गोल्छासँग पहिलो चरणको बयान यसअघि नै लिइसकेको छ।
विभाग स्रोतका अनुसार प्रारम्भिक अनुसन्धान नै उनको कनेक्सन पुष्टि हुन्छ। उनीलगायतमाथि सम्पत्ति शुद्धीकरण, बिमा र बैंकिङ कसुरसँग सम्बन्धित कसुरमा अनुसन्धान हुँदैछ।
हिमालयन रि—इन्स्योरेन्समा सम्पत्ति शुद्धीकरण भएको भन्दै ०७८ असार २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेविसंघसहित तत्कालीन पाँच विद्यार्थी संगठनले उजुरी दिएका थिए। सोही प्रकरणमा अख्तियारसहित सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग र सीआईबीमा उजुरी परेको थियो।
जेनजी आन्दोलनपछि बनेको तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले सो प्रकरणमा अनुसन्धान गर्ने निर्णय गरेको थियो। सम्बन्धित निकायहरूले उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बिमा र बैंकिङ कसुरसँग सम्बन्धित कसुरमा अनुसन्धान गरिरहेका छन्।
गोल्छा अध्यक्ष रहेको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले हिमालयन रिमा २० लाख ८० हजार कित्ता सेयर लगानी गरेको छ। राजनीतिक पहुँचका आडमा आपराधिक साम्राज्य खडा गरेका भट्ट भने इन्फिनिटी होल्डिङ्सका अध्यक्ष हुन्। भट्टकै अगुवाईमा स्थापना भएको हिमालयन रिमा गोल्छा स्थापना कालदेखिकै अध्यक्ष थिए।
उनी अध्यक्ष रहेकै समयमा हिमालयन रिको २ अर्ब २१ करोड ९७ लाख १ हजार ४४८ रुपैयाँ दिपक भट्टको नाममा दोस्रो बजारमा सेयर खरिद गर्न प्रयोग भएको अनुसन्धानबाट खुलेको छ। प्रचलित कुनै पनि कानुनमा कुनै पनि संस्थाले आफ्नो कोष कुनै व्यक्तिगत लगानीमा प्रयोग गर्न पाउने व्यवस्था नरहेको कानुनका जानकारहरू बताउँछन्। यदी त्यस्तो भएको भए गम्भीर कानुनी उल्लंघन मानिन्छ।
रकम दुरुपयोगमा भट्टसँगै जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवालको पनि साँठगाँठ देखिएको छ। उनीहरू व्यवसायिक साझेदारसमेत हुन्। सम्पत्ति शुद्धीकरण विभाग स्रोतका अनुसार नेपालमा रहने आर्थिक स्रोतहरू सबै अग्रवालको नाममा रहने र सो रकम भट्टको नाममा सिंगापुरदेखि हङकङ, दुबई जस्ता मुलुकमा लगेर लगानी गर्ने वा लुकाउने गरेको प्रमाण नै फेला परेको छ।
स्रोतका अनुसार गोल्छासहित भट्ट, अग्रवाल, रोहित गुप्ता, अमित मोर लगायतको समूहले शेयर कर्नरिङका लागि एउटा छुट्टै समूह बनाएर मिलेमतोमा कुनै कम्पनीको शेयर मूल्य उछाल्ने र वार्षिक हिसाबकिताब गरी भागबण्डा गर्ने गरेको खुलेको छ।
यता व्यवसायीहरूले भने अग्रवाल, गोल्छालगायत व्यवसायिक घरानामाथि धरपकड भए नेपालमा व्यवसायहरूका साथै बैंक तथा वित्तिय संस्थाहरू नै धारासायी हुने चेतावनी दिएका छन्। सोही कारण सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई थुनामुक्त गर्नुपरेको विभाग स्रोत बताउँछ। अग्रवाल परिवारको बिचौलिया दीपक भट्टसँग साझेदारी देखिएको छ।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
प्रतिक्रिया