बिहिबार, ३० अप्रिल २०२६

चुनाव हारे पनि सर्लाही नछोड्ने गगनको प्रतिज्ञा

News Image
• • •

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा पराजित भएपनि क्षेत्रका मतदाता र विकासका मुद्दासँग सधैँ जोडिएर रहने प्रतिबद्धता जनाएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही आएका थापा पराजित हुने निश्चित भएपछि काठमाडौं फर्किएका थिए।

त्यसपछि पहिलो पटक बुधबार सर्लाही आएका थापाले सर्लाही–४ अन्तर्गत धनकौलमा आयोजित मतदाता धन्यवाद तथा ‘जरा अभियान’ कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले आफू हार्दा धेरै नेता–कार्यकर्ता तथा शुभेच्छुक भावुक बनेको उल्लेख गरे। उनले आफूलाई साथ, सद्भाव र सहयोग गर्ने सम्पूर्ण मतदाता तथा पार्टी पङ्क्तिप्रति आभार व्यक्त गरे।

‘म हार्दा धेरै साथीहरू रुनुभयो। मेरा लागि सद्भाव र सहयोग गर्ने सम्पूर्ण नेता–कार्यकर्ता तथा मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भने, ‘हजुरहरूको माया र विश्वासले म रत्तिभर पनि विचलित भएको छैन। सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैं साथमा रहनेछु।’

सभापति थापाले निर्वाचनअघि गरेका प्रतिबद्धताअनुसार शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रको सुधारका लागि आफ्नो टोलीले अध्ययन तथा योजना निर्माणको काम अघि बढाइसकेको बताए।

‘निर्वाचनअघि नै शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रको विकासका लागि मेरो टोलीले अध्ययन–अनुसन्धान सुरु गरिसकेको थियो,’ उनले भने, ‘अब त्यसैको निष्कर्षका आधारमा यी क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम अघि बढाइनेछ।’

प्रतिनिधिसभामा निर्वाचित हुन नसके पनि सर्लाही–४ का जनताको प्रतिनिधिका रूपमा आफू निरन्तर सक्रिय रहने उनको भनाइ थियो।

‘आगामी पाँच वर्षसम्म म प्रतिनिधिसभामा यहाँको सांसदका रूपमा नरहे पनि झन्डै २३ हजार मतदाताले ममाथि गरेको विश्वासको सम्मान गर्दै यस क्षेत्रको प्रतिनिधि भएर सक्दो काम गर्नेछु,’ उनले भने, ‘म यहाँको भाषा पनि सिक्छु र गाउँ–गाउँ पुगेर मतदातासँग संवाद गर्छु।’

प्रमुख प्रतिपक्षी दलको सभापतिका रूपमा देशव्यापी जिम्मेवारी भए पनि आफू उम्मेदवार बनेको क्षेत्रप्रति विशेष ध्यान रहने थापाले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!