मङ्गलबार, १२ मे २०२६

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग

News Image
• • •

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको स्वास्थ्य परीक्षण गर्न माग गरेको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बे छिटोभन्दा छिटो प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराउन माग गरेका हुन्।

सोमबारको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह उठेर हिँडेका थिए। सो घटनाले सिंगो देश र संसद्को इज्जतमाथि दाग लागेको  कांग्रेसको टिप्पणी छ।

‘प्रधानमन्त्रीले अहंकार र अमर्यादाहीन व्यवहार देखाउनु दुर्भाग्यपूर्ण हो। उहाँको व्यवहारले जनताको मन कुँडिएको छ। देशको शीर झुकेको छ। यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ,’ आङ्देम्बेले भने।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले प्रधानमन्त्रीको स्वास्थ्य समस्या भएका कारणले बीचमै छाडेर हिंडेको स्पष्टीकरण दिएको प्रसंग उप्काउँदै स्वास्थ्यमा अचानक प्रतिकूल अवस्था बनेको हो भने के भएको हो? भन्दै उनले स्वास्थ्य परीक्षण हुनुपर्ने बताए। असिम शाहको स्पष्टीकरण केहीबेरमै सञ्जालबाट हटाइएको थियो।

‘म सरकारलाई आग्रह गर्छु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो? अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराइयोस्,’ आङ्देम्बेले भने।

उनले थपे, ‘प्रधानमन्त्री अब रास्वपाको मात्रै रहनुभएन, हाम्रो पनि सम्पत्ति हो। उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ। चाँडोभन्दा चाँडो उहाँको स्वास्थ्य जानकारी संसद्लाई जानकारी गराइयोस्। हुनसक्छ सत्ताको भारी अपेक्षा गरेभन्दा ठूलो भएर।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!