आइतबार, ३१ मे २०२६

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस र एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग

News Image
• • •

नेपाली कांग्रेसले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेको छ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भारतले नेपालको मात्रै नभएर नेपालले पनि भारतको सीमा मिचेको आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कांग्रेसकी सचेतक बासना थापाले आपत्ति जनाइन्।

उनले भनिन्, ‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो। कहाँनेर मिचियो? हामीलाई पनि थाहा दिनुपर्‍यो। होइन भने, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो? यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्।’

त्यस्तै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले पनि प्रधानमन्त्रीले नेपाल भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिले गम्भीर अन्यौल सृजना गरेको बताइन्।

‘भारतीय भूमि मिचेको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो कि प्रधानमन्त्रीको व्यक्तिगत धारणा हो’ भन्दै उनले प्रश्न गरिन्।

एमालेले कुन स्थान, क्षेत्र वा सीमा खण्डमा भारतको सीमा नेपालले मिचेको हो त्यसको आधार र प्रमाण पनि जनतालाई दिन जानकारी दिन माग गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!