बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ। देशभरका ७७ जिल्लामध्ये बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ।
रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र एक जिल्लामा अधिवेशन स्थगित भएको तथा पाँच जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिए। रास्वपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ २३ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिएलगत्तै मङ्गलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ।
रास्वपाका प्रवक्ता मनीष झाका अनुसार हालसम्म सम्पन्न भएका ५६ जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मधेश प्रदेशका अधिकांश जिल्लामा नेतृत्व चयनका लागि मतदान प्रक्रिया चलिरहेको पनि उनले जानकारी दिए । हालसम्म कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामा अधिवेशन सम्पन्न भएको छ । उदयपुरमा निर्वाचन प्रक्रिया जारी छ ।
त्यसै गरी मधेश प्रदेशका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीमा निर्वाचन सम्पन्न भएको छ । धनुषामा आज निर्वाचन हुँदै छ । त्यसै गरी सप्तरी र बारामा भोलि बुधबार मतदान हुने कार्यतालिका छ। यसै गरी अन्य जिल्लामा पनि नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको रास्वपाले जनाएको छ।
बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुली, धादिङ, रामेछाप, चितवन, रसुवा र ललितपुरमा अधिवेशन सम्पन्न भएको छ । सिन्धुपाल्चोकको अधिवेशन भने स्थगित गरिएको छ। स्थगन हुनुको कारण भने खुलाएको छैन । गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ, गोरखा र बाग्लुङमा अधिवेशन सम्पन्न भएका छन् । बाग्लुङ र नवलपुरमा भने निर्वाचन प्रक्रिया सुरु हुन बाँकी छ ।
यसै गरी लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी (पश्चिम), पाल्पा, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रुपन्देहीलगायत सबै जिल्लामा अधिवेशन सम्पन्न भएको रास्वपाले जनाएको छ । लुम्बिनी पहिलो प्रदेश बनेको छ, जहाँ सबै जिल्ला अधिवेशन सकिएका छन्। कर्णाली प्रदेशका कालिकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सम्पन्न भइसकेको छ । सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया जारी छ। डोल्पा, हुम्ला र रुकुम पूर्वमा भने अधिवेशन सुरु हुन बाँकी छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका बैतडी, डडेलधुरा, अछाम, दार्चुला, कैलाली र कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको छ । डोटी र बाजुरामा पुनः निर्वाचन हुने भएको छ भने अन्य जिल्लामा नेतृत्व चयन सम्पन्न भइसकेको छ । मनाङ र मुस्ताङमा भने हालसम्म जिल्ला अधिवेशन हुन सकेको छैन। यससँगै अधिवेशन हुन बाँकी जिल्लाको सङ्ख्या पाँच पुगेको छ।
त्यसै गरी रास्वपाले वडा र पालिका तहको अधिवेशन सम्पन्न गरिसकेपछि जिल्ला अधिवेशनमार्फत सङ्गठनलाई थप सुदृढ बनाउने अभियानलाई तीव्रता दिएको हो। पार्टी नेतृत्वले तल्लो तहबाट नेतृत्व चयन गर्ने प्रक्रियालाई लोकतान्त्रिक अभ्यासको महìवपूर्ण आधारका रूपमा व्याख्या गर्दै सङ्गठन निर्माणमा सदस्यहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको जनाएको छ।
रास्वपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ। पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ।
भुवन केसीका ‘अल टाइम फेबरेट’ पाँच फिल्म
उच्च हिमाली क्षेत्रमा पर्यटन गतिविधि बढ्दै, छ्यादी घ्याङलाई ट्रेकिङ हब बनाउने हेलम्बुको योजना
‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’
आजको मौसमः सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रास्वपा प्रदेश अधिवेशन आजदेखि
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया