शुक्रबार, ०३ जुलाई २०२६

भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!

News Image
• • •

प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन शाहले पार्टीको मनोनीत केन्द्रीय महामन्त्रीमा भूपदेव शाहको विकल्प खोज्न थालेका छन्।

निवर्तमान महामन्त्रीसमेत रहेका भूपदेवलाई नै महामन्त्रीमा सिफारिस गर्ने चर्चाका बीच बालेनले उनको विकल्प खोजेका हुन्। पछिल्लो समय प्रधानमन्त्री शाह भूपदेवसँग असन्तुष्ट रहेका बुझिएको छ।

रास्वपा केन्द्रीय उपसभापति र महामन्त्रीमा एक/एक सिट खाली छ। भूपदेवलाई निर्विकल्प महामन्त्रीका रुपमा प्रचार गरिएपछि पछिल्लो समय बालेनको मूड फेरिएको उनीनिकट स्रोतले बतायो।

काठमाडौं महानगरमा रहँदा आफ्नो टीममा बसेर काम गरेका भूपदेवलाई बालेनले रास्वपासँग एकताका बेला महामन्त्री बनाएका थिए। उनलाई महामन्त्रीजस्तो पार्टीको शीर्ष भूमिका दिलाउनुमा बालेनको विभिन्न स्वार्थसमेत जोडिएका थिए।

बालेननिकट स्रोतका अनुसार रविसँग एकता गर्नुअघि उनी निर्वाचनमा आफ्नो समूहलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ धेरैभन्दा धेरै टिकट दिलाउन चाहन्थे। त्यसैका लागि आफ्ना विश्वासपात्र मानिएका भूपदेवलाई अघि सारेका थिए। तर उनी बालेनको परीक्षामा खरो उत्रिन सकेनन्। अर्थात फेल भए।

भर्खरै सम्पन्न पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा समेत बालेनले भूपदेवलाई महाधिवेशन प्रतिनिधि छनोटदेखि केन्द्रीय सदस्य निर्वाचनसम्म आफ्नो समूहमा समर्थन जुटाउन खटाएका थिए। 

जिल्लादेखि प्रदेश अधिवेशनसम्म देशदौडामा निस्किएका भूपदेवले नजिता भने बालेनको पक्षमा पार्न सकेनन्। महाधिवेशनमा बालेन समूह नराम्ररी पराजित भयो। चिट चोराएर अपवादको जितबाहेक अधिकांश नेताहरू केन्द्रीय सदस्यमा पराजित भए।

यी दुवै मूख्य परीक्षामा फेल भएपछि प्रधानमन्त्री बालेन भूपदेवले पार्टीको शक्तिशाली पोस्टमा राख्दा पनि आफ्नो समूहलाई बलियो बनाउन नसकेको भन्दै असन्तुष्ट बनेका हुन्। कार्यकर्तालाई आफ्नो पक्षमा परिचालन गर्न नसकेको भन्दै उनी भूपदेवसँग व्यक्तिगत रुपमै असन्तुष्ट बनेको चर्चा छ।

स्रोतका अनुसार भूपदेव महामन्त्रीको दौडबाट बाहिरिइसकेका छन्। प्रधानमन्त्री बालेनले आफ्नो समूहबाट महामन्त्री र सभापतिसहित केन्द्रीय पदाधिकारीको जिम्मेवारीमा पठाउने नेताहरूको छनोट थालेका छन्।

बालेनले आफ्नो कोर टीमका सुनिल लम्साल, सुधन गुरुङ, सुदीप ढकाल, सस्मित पोखरेल, प्रकृति ढकाललगायतसँग भूपदेवले पार्टी सभापति रवि लामिछानेसँग बार्गेनिङमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्ने गुनासो गरेका छन्।

अब महामन्त्री बनाउँदा भूपदेवको ठाउँमा सोच्नुपर्ने हुनसक्ने उनले कोर टीमका सदस्यहरूलाई बताइसकेका छन्।

शालिन र शान्त स्वभावका भूपदेव भने प्रक्रियामा विश्वास गर्ने नेता हुन्। उनी दबाबभन्दा पनि प्रक्रियागत रुपमै काम गर्न रुचाउँने उनीनिकट एक हितैषीले बताए।

भूपदेवका ती हितैषी भन्छन्, ‘उहाँ (भूपदेव)मा प्रक्रियामा विश्वास गर्नुहुन्छ। जबरजस्ती दबाबले भर्खरै बन्दै गरेको पार्टीमा विखण्डन गराउनेतर्फ सचेत हुनुहुन्छ। सबै नजिता हतारमा खोजेर हुँदैन। समयसँगै देखिँदै जाने कुरा हो।’

यता बालेन पक्षलाई भने कबिन्द्र बुर्लाकोटीजस्तो सहज सहकर्मीसँग बार्गेनिङमा खरो उत्रिन नसकेका भूपदेवले अब रविका विश्वासपात्र, कुटिल चाल चल्नसक्ने, त्यसमाथि निर्वाचित महामन्त्री विपिन आचार्यसँग प्रष्ट मत राख्न सक्लान् भन्नेमा शंका छ।

‘कबिन्द्रजीसँग त आफ्नो मत प्रष्टसँग राख्न सक्नुभएन भने यस्ता कुटिल विपिनसँग प्रष्ट मत राख्न सक्नुहोला, हाम्रो समूहलाई स्थापित गराउन सक्नुहोला भन्नेमा शंका देखिन्छ। उहाँको बारेमा सोच्नैपर्ने देखियो,’ बालेननिकट स्रोतले भन्यो।

प्रधानमन्त्री बालेन भने भूपदेवलाई उपसभापतिमै भएपनि टिकाउने कि कुनै पनि पदाधिकारीको भूमिकाबाटै अलग गर्ने भन्नेमा सोचमग्न रहेको बुझिएको छ। स्रोतका अनुसार बालेन भूपदेवलाई पार्टी पदाधिकारीको विकल्पमा आफ्नै सल्लाकार बनाउने वा कुनै मन्त्रालयमा पठाउने भन्नेबारे आफ्नो कोर टीमसँग सघन छलफलमा छन्।

महामन्त्रीमा भने सुनिल लम्साल, सुधन गुरुङ, प्रकृति ढकाल, सुदीप खनाल वा सस्मित पोखरेलमध्ये कुनै एक नेतालाई सिफारिस गर्नेबारे बालेनले छलफल गरिरहेको बुझिएको छ।

बालेनले आफ्नो भागमा परेका पदाधिकारीहरूको नाम टुंग्याएपछि केन्द्रीय समितिको सिफारिसमा सभापति रवि लामिछानेले मनोनीत गर्नेछन्। रवि पक्षले भने भूपदेवसँगै काम गर्न सहज हुने भन्दै उनैलाई दोहोर्‍याउन वरिष्ठ नेता बालेनलाई सुझाव दिएको बुझिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!