आइतबार, ०५ जुलाई २०२६

‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन प्रवेशमा रोक

News Image
• • •

पर्साको ठोरीमा भारतीय नम्बर प्लेटका सवारी साधन प्रवेशमा रोक लगाइएको छ। नेपाली सुरक्षाकर्मीको आग्रहमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारततर्फबाट आएका चार पाङ्ग्रे सवारीसाधनलाई भारततर्फ नै फर्काइदिएको छ।

ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै गरेको नयाँ गन्तव्य हो। यहाँ दर्जनौं होटल तथा रिसोर्टहरू भारतीय पर्यटकलाई लक्षित गर्दै संचालनमा ल्याइएको छ भने सयौं व्यक्तिले स्थानीयस्तरमा नै रोजगारी पाएका छन्।

तर, अचानक भन्सार प्रक्रिया पूरा नगरिएको भन्दै भारतीय पर्यटकका सवारीसाधनलाई प्रवेशमा रोक लगाइएपछि ठोरीका होटल व्यवसाय ठप्प छन् भने यहाँका पर्यटकीय गन्तव्य सुनसान छन्। जसका कारण पर्यटन, व्यापार तथा स्थानीय जनजीवनमा गम्भीर असर परेको छ।

ठोरीमा अहिले दैनिक दुई सयभन्दा बढी निजी भारतीय सवारीसाधन मार्फत पर्यटकहरू आउने गरेका छन् भने पछिल्लो समय यहाँको पर्यटन व्यवसाय चलायमान हुँदै गइरहेको छ। तर गत शुक्रबारबाट भारतीय सवारीसाधन आवागमनमा अवरोध हुँदा यहाँको पर्यटकीय गतिविधि ठप्प बनेको छ।

भन्सार नगरी आएका सवारीसाधन प्रवेशमा रोक लगाइएको सम्बन्धि सूचना भारततर्फ भिखना ठोरीको एसएसबी क्याम्पमा टाँसिएको छ।

ठोरीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका एक प्रहरी अधिकारीका अनुसार ‘माथिको आदेश’ मा भारतीय सवारीसाधनलाई ठोरी प्रवेशमा रोक लगाइएको हो। 

‘माथिको आदेश हो, हामीले आदेश पालना गर्ने हो,’ ती सशस्त्र प्रहरीका अधिकारीले भने।

भारतीय सवारीसाधन प्रवेशमा रोक लगाइएको ‘आदेश’बारे पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग जानकारी माग्दा उनले विना भन्सार विदेशी सवारीसाधन नेपाल प्रवेश गर्न नपाइने भएकाले कानुनमा उल्लेख भएको विषय कार्यान्वयन गरिएको बताए।

‘कानुनको पालना गराउन भनिएको हो, कानुन नै आदेश हो, नियम अनुसार भन्सार काटेर कानुन मानेर आउन पाइन्छ, कानुन विपरीत गर्न मिल्दैन, कानुनको सबैले पालना गर्नु पर्छ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने।

सरकारले पछिल्लो समय अनलाइनमार्फत भन्सार प्रवेश शुल्क तिर्न मिल्ने व्यवस्था मिलाएकोले भन्सार भएर आउने सवारीसाधन नरोकिने उनले बताए।

‘अहिले अनलाइन दस्तुर बुझाएर आउने व्यवस्था छ, अनलाइन दस्तुर बुझाएर, बैंकमा रकम बुझाएर आउन पाइन्छ, कानुन अनुसार हुँदा रोकिँदैन,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने।

स्थानीय होटल तथा पर्यटन व्यवसायी छतेन्द्र आचार्यले सदियौंदेखि ठोरी नाका हुँदै आवतजावत हुँदै आएकोमा ठोरीमा भारतीय पर्यटकका सवारीसाधन आवागमनमा अवरोध हुँदा पर्यटन क्षेत्र धराशायी बन्ने अवस्था सिर्जना भएको बताए।

‘ठोरीमा छोटी भन्सार छ, कर्मचारी छैनन्, कर्मचारी राख्ने र नाकालाई व्यवस्थित बनाउने काम सरकारको हो, भन्सारमा कर्मचारी सरकारले राख्ने होला नि? नेपाल आउने पर्यटकलाई रोक्दा के सन्देश जान्छ?’ उनले भने।

ठोरीमा नेपाल सरकारको अमृत छोटी भन्सार कार्यालयको भवन निर्माण सम्पन्न भएर अलपत्र अवस्थामा छ। सरकारले कर्मचारी व्यवस्थापन गरेर सेवा संचालन गर्न नसक्दा गत वर्षदेखि भवन उपयोगहीन बनिरहेको छ। गत वर्षदेखि भन्सार कार्यालय बन्द भएपछि भारतीय सवारीसाधनको वैधानिक प्रवेशको व्यवस्था नै ठप्प छ।

ठोरीका अर्का होटल तथा पर्यटन व्यवसायी धिरसिंह घिमिरेले उदाउँदै गरेको पर्यटकीय गन्तव्यलाई सरकारले संरक्षण गर्दै थप सुविधा दिनु पर्नेमा झन अवरोध सिर्जना गर्नु अन्याय भएको बताए।

‘अहिले दैनिक आउने दुई सय भन्दा बढी सवारीसाधन भारतर्फ नै रोकिएका छन्, उदाउँदै गरेको पर्यटकीय गन्तव्यलाई सरकारले संरक्षण गर्दै थप सुविधा दिनु पर्नेमा झन अवरोध सिर्जना गरिनु पर्यटकीय दृष्टिकोणले अन्याय हो,’ घिमिरेले भने।

वर्षौंदेखि ठोरी नाका भारतीय पर्यटकका लागि सहज प्रवेशद्वारका रूपमा परिचित रहँदै आएको छ। भारतीय पर्यटक यही नाकाहुँदै नेपाल प्रवेश गरी ठोरीको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, वन्यजन्तु, ग्रामीण पर्यटन तथा विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गर्दै स्थानीय होटल, रेष्टुरेन्ट, पसल तथा यातायात व्यवसायलाई चलायमान बनाउँदै आएका छन्।

पर्यटन समिति ठोरीका अध्यक्ष सुदिप थापाले सरकारले भारतीय सवारीसाधनलाई नाकामा अवरोध गर्नुको साटो आफ्नो संरचना बलियो बनाएर व्यवस्थित आवागमन सुनिश्चित गर्नु पर्ने बताए।

‘ठोरीमै छोटी भन्सार कार्यालय छ, भएको संरचनामा सेवा सञ्चालन गर्ने दायित्व सरकारको हो, आफ्नो संरचना बलियो बनाएर व्यवस्थित आवागमन सुनिश्चित गर्नु पर्नेमा त्यस्तो नहुनु दुःखद् हो, कुनै पनि बाहनामा पर्यटकमाथि अवरोध हुनुहुँदैन,’ थापाले भने।

भन्सार कार्यालय बन्द भएपछि स्थानीय सरकार, राजनीतिक दल, उद्योगी–व्यवसायी, पर्यटनकर्मी तथा नागरिक समाजले पटक–पटक भन्सार पुनः सञ्चालनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि कुनै ठोस पहल हुन नसकेको स्थानीयवासी बताउँछन्

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!