सोमबार, १३ जुलाई २०२६

बेवारिसे गाडीबारे रास्वपा नेताको धारणाः अव्यवस्थित पार्किङले कति गाह्रो हुन्छ भनेर थाहा दिन खोजेको हुनसक्छ

News Image
• • •

काठमाडौंमा विभिन्न सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी आवतजावतमा अवरोध पुर्‍याइएको घटनाबारे रास्वपा नेताले मुख खोलेका छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य मधुसुदन ढकालले ‘अव्यवस्थित पार्किङले कति गार्हो पर्न सक्छ भनेर साङ्केतिक जानकारी दिएको हुन सक्ने’ धारणा व्यक्त गरे।

‘पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गार्हो पर्न सक्छ भनेर साङ्केतिक जानकारी दिएको पनि हुन सक्छ,’ ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘र अर्को कुरा जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरूलाई कति अप्ठेरो पर्छ भनेर थाहा दिएको पनि हुनसक्छ।’

अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडियालगायत अनामनगर भाटभटेनी अगाडि मूल सडकमै सोमबार बिहान बेवारिसे अवस्थामा गेटमा गाडी राखिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बेवारिसे पार्क गरिएका गाडीको निरीक्षण तथा जाँच गर्दा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको जानकारी दिए। 

उनका अनुसार प्रहरीले गाडीभित्र कुनै सुरक्षा जोखिम हुने वस्तु भए नभएको जाँच गरेको थियो। जाँचका क्रममा त्यस्तो जोखिम नदेखिएपछि ती गाडीलाई अनधिकृत स्थानमा पार्किङ गरिएको कारण आवश्यक कारबाहीका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानातर्फ पठाइएको छ।

उनले भने, ‘हामीले दुई किसिमले हेरेका थियौं। गाडीमा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री छ कि छैन भनेर जाँच गर्‍यौं। तर त्यस्तो कुनै सुरक्षा खतरा देखिएन।’

उनले सार्वजनिक आवागमनमा अवरोध हुने गरी अनधिकृत रूपमा पार्किङ गरिएका कारण गाडी हटाएर ट्राफिक प्रहरी कार्यालय पठाइएको बताए।

अनलाइनखबर, हिमालय टेलिभिजन अगाडिको गाडी पनि बग्गीखाना लगिएको उनले जानकारी दिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!