मङ्गलबार, २१ जुलाई २०२६

जेनजी मुभमेन्ट नेपालको सरकारलाई चेतावनीः कर फिर्ता गर, नत्र घेरिन्छ सिंहदरबार

News Image
• • •

जेनजी मुभमेन्ट नेपालले शिक्षा, स्वास्थ्य, विद्युत् तथा राइड सेयरिङ सेवामा लगाइएका नयाँ कर तथा शुल्क तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै अन्यथा सिंहदरबार केन्द्रित सशक्त जनआन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार प्रेस वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

प्रेस वक्तव्यमा मुभमेन्टले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी शिक्षामा ३ प्रतिशत शिक्षा समता शुल्क, निजी स्वास्थ्य सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क, ५० युनिटभन्दा बढी विद्युत् उपभोगमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) तथा राइड सेयरिङ सेवामा ५ प्रतिशत VAT लगाउने निर्णय जनविरोधी भएको दाबी गरेको छ।

वक्तव्यमा शिक्षा, स्वास्थ्य, ऊर्जा र सार्वजनिक यातायातजस्ता आधारभूत सेवामा थप कर लगाएर सरकारले विद्यार्थी, अभिभावक, बिरामी, श्रमिक, मध्यमवर्ग तथा न्यून आय भएका नागरिकमाथि प्रत्यक्ष आर्थिक भार थोपरेको उल्लेख गरिएको छ। देशको कमजोर आर्थिक अवस्था, बढ्दो बेरोजगारी र घट्दो क्रयशक्तिको समयमा यस्तो नीति जनउत्तरदायी शासनको सिद्धान्तविपरीत रहेको मुभमेन्टको भनाइ छ।

जेनजी मुभमेन्ट नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सम्बन्धित कर तथा शुल्क तत्काल फिर्ता लिन आग्रह गर्दै त्यसो नगरे उत्पन्न हुने राजनीतिक, नैतिक र सामाजिक जिम्मेवारी सरकार र अर्थमन्त्री स्वयंले लिनुपर्ने चेतावनी दिएको छ।

वक्तव्यमा सरकारले जनभावनाको निरन्तर बेवास्ता गरे सिंहदरबार केन्द्रित शान्तिपूर्ण, लोकतान्त्रिक तर सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उल्लेख गरिएको छ। 

‘जनताको शिक्षा, स्वास्थ्य, ऊर्जा र आवतजावतको अधिकार राजस्व संकलनको माध्यम बन्न सक्दैन। राज्यको पहिलो दायित्व नागरिकमाथि करको बोझ थप्नु होइन, सहज, गुणस्तरीय र पहुँचयोग्य सेवा सुनिश्चित गर्नु हो,’ वक्तव्यमा भनिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!