शनिबार, २५ जुलाई २०२६

गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारसहितको टोली धनगढीमा

News Image
• • •

धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ।

समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन्। संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधि डा. केसीलाई भेट्न धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आईसीयू कक्षमा पुगेका छन्।

सरकारले खटाएको वार्ताटोलीले डा. केसीसँग अनौपचारिक छलफल गरेपनि औपचारिक वार्ता भने नभएको डा. गोविन्द केसीका स्वास्थ्य सहयोगी डा. अमृत जैसीले बताए।

‘डा. केसीसँग भेटेर सरकारी टोली फिर्ता भइसकेको छ,’ जैसीले भने, ‘आज अनौपचारिक छलफल मात्रै हुन्छ होला, औपचारिक वार्ता आइतबार मात्रै हुने जानकारी आएको छ।’

केसीको तर्फबाट स्पष्ट माग अघि बढिसकेकाले सरकारी टोली त्यसमा कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा महत्वपूर्ण रहेको जैसी बताउछन्।

‘डा. साबले उठाउनु भएका विषयमा सरकार कसरी प्रस्तुत हुन्छ र कति गम्भीर हुन्छ भन्ने कुरा महत्वपूर्ण हो,’ जैसीले भने, ‘उहाँ आफ्ना कुराबाट पछि हट्ने अवस्थामा हुनुहुन्न।’

शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका शिक्षामन्त्री सस्मित पोखरेलले सोही संवादलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा मन्त्रालयका सचिवसहित वार्ता टोली केसीसँग प्रत्यक्ष संवादका लागि धनगढी पुगेको बताए।

सरकार संवादका माध्यमबाट यस विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको मन्त्री पोखरेलले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!