सोमबार, २७ जुलाई २०२६

सरकारलाई सचेत गराउने सचेतकलाई नै रास्वपाले गरायो सचेत

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले सचेतक क्रान्तिशिखा धिताललाई नै सचेत गराएको खुलेको छ।

सुकुम्बासी समस्या व्यवस्थापनमा बालेन सरकारमाथि सामाजिक सञ्जालमार्फत प्रश्न गरेकी सचेतक धिताललाई प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सचेत गराएका हुन्।

कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई असार ८ गते होल्डिङ सेन्टर छोड्न आदेश दिएको सरकारले असार २२ गतेबाट खाना दिन नै बन्द गरेपछि धितालले सरकारको आलोचना गरेकी थिइन्।

‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्र अनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो,’ धितालले प्रश्न गरेकी थिइन्।

रास्वपा स्रोतका अनुसार पार्टीकै सचेतक जस्तो जिम्मेवार व्यक्तिले पार्टी र राज्यका संयन्त्रमा कुरा उठाउनुको साटो फेसबुमा लेखेर विपक्षीहरूलाई मसाला दिएको भन्दै बुल्लाकोटीले सचेत गराएका हुन्।

स्रोतका अनुसार धितालसँग लिखित स्पष्टीकरण नै सोध्ने तयारी भए पनि पार्टीभित्रै नेताहरूको मुख थुन्ने प्रयास उजागर हुने संसयपछि अन्तिममा उनलाई मौखिक रूपमा सचेत गराइएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!