बिएल संवाददाता
अध्यक्ष केपी ओलीले रातारात गुण्डु बोलाएर एमाले बामगती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिन दबाब दिएपछि नेता जगन्नाथ थपलिया बोल्दाबोल्दै ढलेका छन्।
सोमबार साँझ ७ बजे ओली निवास गुण्डुमा एकाएक बोलाहट भएपछि दलका नेता थपलिया दौडिँदै गुण्डु पुगे। तर, त्यहाँ पुग्दा माहोल फरक थियो। छलफलमा सहभागी एक नेताका अनुसार अध्यक्ष ओली बागमतीका १७ जना सांसदलाई भेला पारेर नेता थपलियाको राजीनामा माग्न तयार भएर बसेका थिए।
तीमध्ये १४ जना सांसदहरू गत साता नै किरण थापामगरलाई मुख्यमन्त्री बनाउनेगरी हस्ताक्षर गरिसकेकाहरू थिए।
अध्यक्ष ओली, बागमती इन्चार्ज महेश बस्नेतसहित किरण पक्षधर नेताहरूले एकै स्वरमा राजीनामा मागेपछि नेता थपलिया एकाएक भावुक बने। उनीनिकट नेताका अनुसार ‘आफूले ५ दशक बढी उर्जावान समय योगदान गरेको पार्टीमा मुख्यमन्त्री बन्न अयोग्य करार गरिएपछि’ नेता थपलिया बोल्लाबोल्दै भक्कानिएर ढलेका हुन्।
अचेत अवस्थामा पुगेका थपलियालाई सांसद दावा दोर्जे लामा लगायतले मध्यपुर ठिमी अस्पताल ल्याएका थिए। तर, थपलिया अचेत भएर ढलेपछि पनि गुण्डुको छलफल रोकिएन।
छलफलमा सहभागी ती नेताका अनुसार नेता थपलियालाई अस्पताल लगिएपछि अध्यक्ष ओलीले अमानवीय हर्कत देखाए। ‘यति त सहन नसकेर ढल्नेले कसरी मुख्यमन्त्री चलाउन सक्नुहुन्छ? पुष्टि भएन र?’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘राप्रपालाई मिलाउन सक्नुपर्यो क्या। उहाँले सक्नुहोला भन्ने देखिएन। भोलिसम्म जसले राप्रपाको समर्थन जुटाउँछ उही बन्छ मुख्यमन्त्री। मेरो फाइनल डिसिजन नै सोच्नुस्।’
त्यसअघि सचिव महेश बस्नेतसहित प्रदेश सांसदहरूले राजीनामा मागेपछि दलका नेता थपलियाले प्रतिवाद गरेका थिए। बस्नेतले अध्यक्षले जे भन्यो त्यो नै आधिकारिक हुने जवाफ दिएपछि थपलियाले आफू पनि पार्टीकै मान्छे रहेको भन्दै प्रतिवाद गरेका थिए।
सबै सहभागीहरूलाई आफ्नोविरुद्धमा उतारेपछि नेता थपलिया भावुक बन्दै ढलेका नेताहरूको भनाइ छ।
यसअघि गत शुक्रबार मुख्यमन्त्रीका आकांक्षी किरण थापामगरलाई नै अगाडि राखेर ओलीले थपलियालाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए। ओलीको आश्वासनपछि आफू मुख्यमन्त्री बन्नेमा थपलिया ढुक्क थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया