आइतबार, १६ अगस्ट २०२६

पाटन बारको निर्वाचनमा शर्मनाक हारपछि रास्वपानिकट वकिलहरूको पत्रकार सम्मेलन

News Image
• • •

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको छ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी रास्वपानिकट वकिलहरूले निर्वाचन समिति नै एमाले निकट पीपीएलएको निर्देशन पालक रहेको आरोप लगाए।

मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले निर्वाचनका क्रममा स्वतन्त्र र निष्पक्ष निर्वाचनका स्थापित मान्यताविपरीत गतिविधि भएको आरोप लगाए।

निर्वाचनसम्बन्धी प्रक्रिया तथा व्यवस्थापनमा एकपक्षीयता देखिएको, अनधिकृत व्यक्तिहरूको घुसपैठ गराई फर्जी मतदान गराएको जिकिर गरे। सम्बन्धित कानुन व्यवसायीहरूको स्वतन्त्र सहभागिता र निर्वाचन अधिकारमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य गरिएकोले मतपरिणम अवैध भएको भट्टराईको ठहर छ।

सुनियोजित रुपमा अक्सिजनसमेत नपुग्ने अण्डरग्राउण्ड पार्किङस्थलमा निर्वाचनस्थल राखी भारी मात्रामा सुरक्षाकर्मीबाट दमन गरी आफ्नो पक्षमा परिणाम ल्याइएको भट्टराईले आरोप लगाए।

‘सुरक्षकर्मीहरुले स्वतन्त्र मञ्चका उम्मेदवारहरूलाई लछारपछार गर्ने, अभद्र व्यवहार गर्ने, हुलहुज्जत गराई निर्वाचनमा अशान्ति पैदा गरी उम्मेदवार, पर्यवेक्षक, निर्वाचन प्रतिनिधिहरूलाई निर्वाचन स्थलबाट सामूहिकरुपमा लखेटी, लात्तैलात्ताले हानी, कालो कोट च्याती, कुटपीट गरी निर्वाचनस्थलबाट बाहिर निकाली आफूनिकट मतदातालाई मात्र प्रवेश गराई मतदान अवेरसम्म सञ्चालन गरी निर्वाचन परिणाम घोषणा गरेकोले यसको पूर्णत अवैधानिक छ,’ भट्टराईले भने।

पाटन बार एसोसिएसनका लागि स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अधिवक्ता भेषराज पोखरेलले निर्वाचनमा स्वतन्त्रत, निष्पक्ष, पारदर्शी, वैधानिक तथा कानुन व्यवसायीहरूको सार्वभौम सहभागितामाथि पीपीएलएको निर्देशनमा निर्वाचन समितिले अवैधानिक कार्य गरेको आरोप लगाए।

उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता टिकाराम पोखरेलले निर्वाचनको निष्पक्षता र वैधानिकतामाथि गम्भीर प्रश्न खडा गर्दै बारको कोष दुरुपयोग गरी कार्ड नवीकरण गराएको र अन्य व्यक्तिले उक्त कार्ड प्रयोग गरी सयौंको संख्यामा फर्जी मत हालेको आरोप लगाए।

सहसचिवको उम्मेदवार अधिवक्ता स्वेता कुमारीले स्वतन्त्र र जनविश्वासको जगमा न्यापालिकालाई स्थापित गर्न कानुन व्यवसायीहरूको मतदान गर्न पाउने आधारभूत मानवअधिकार हनन भएको बताइन्।

मतदान गर्न पाउने निर्वाध अधिकारमाथि राजनीतिक दलको निर्देशनमा पालित संगठनहरू र यसको निर्देशनमा चल्ने निर्वाचन समितिले स्वेच्छाचारी ढंगले निर्वाचन गराएको आरोप लगाइन्।

कार्य समितिका खुल्ला सदस्यका उम्मेदवार अधिवक्ता जुजुकाजी महर्जनले प्राकृतिक न्यायको सिद्धान्त, विधिको शासन विपरित अलोकतान्त्रिक, धाँधलीपूर्ण तरिकाबाट निर्वाचन सम्पन्न भएको दाबी गरे। महर्जनले निर्वाचनलाई अमान्य घोषणा गरी सर्वपक्षीय छलफलबाट स्वतन्त्र निर्वाचन समिति गठन गरी तत्काल निर्वाचन गर्न माग गरे।

उच्च अदालत पाटन बारका मतदाता अधिवक्ता त्रिलोकबहादुर चन्द र केन्द्रीय कार्यकारी परिषदका सदस्य अधिवक्ता गोमादेवी कटुवालले विधिको शासन अनुसार निर्वाचान गराउन जोडदार माग गरे।

निर्वाचन समितिले सार्वजनिक गरेको शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाअनुसार पाटन बारमा सत्तारुढ दल रास्वपा र कांग्रेस निकट उम्मेदवारहरूलाई फराकिलो मतान्तरले हराउँदै बामपन्थीको प्यानल नै विजयी भएको छ। अध्यक्षमा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए)का उम्मेदवार सेवन्तराज निरौला अध्यक्षमा विजयी भएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!