सोमबार, २४ अगस्ट २०२६

बागमतीमा ट्वीस्टः मुख्यमन्त्रीले सपथ लिने बैठकमा नेकपाका ७ सांसद अनुपस्थित

News Image
• • •

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मतका लागि बोलाएको प्रदेशसभा बैठकमा नेकपाका सांसदहरू अनुपस्थित नहुने भएपछि विश्वासको मत संकटमा परेको छ।

सत्तारुढ गठबन्धनभित्रको असन्तुष्टिका कारण नेकपाका ७ जना सांसदहरू मुख्यमन्त्रीलाई विश्वासको मत दिने बैठकमा सहभागी नहुने भएका हुन्।

गठबन्धनको मात्र बहुमत नपुग्ने भएपछि राप्रपा सांसदहरूलाई विद्रोह गराएर मत जुटाएका मुख्यमन्त्री थापा गठबन्धनकै नेकपाका सांसदहरूले असहयोग गरेपछि समस्यामा परेका छन्।

मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात ५३ सांसदको समर्थन आवश्यक पर्छ। नेकपाका गंगानारायण श्रेष्ठ, उर्मिला लामा, रुकु चौलागाईं, कृष्ण खनाल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाईंलगायत सांसद बैठकमा अनुपस्थित रहेको स्रोतले बतायो।

उनीहरू मन्त्रिपरिषद् विस्तार तथा सरकारमा सहभागी गराउने विषयमा पार्टीभित्र पर्याप्त छलफल नगरी निर्णय गरिएको भन्दै असन्तुष्ट बनेका स्रोतको भनाइ छ।

यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा सांसदहरू नआएपछि साँझ ५ बजेसम्मका लागि सारिएको थियो। तर, ५ बजेसम्म बैठक बस्न सकेको छैन।

सत्तारुढ स्रोतका अनुसार बैठक सूचना टाँस गरेर स्थगित गर्ने तयारी भइरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!