बिहिबार, २७ अगस्ट २०२६

बाढी पीडितका लागि श्रम संस्कृतिले क्युआरबाट सहयोग जुटाउँदै, पारदर्शी वितरण गर्ने दाबी

News Image
• • •

श्रम संस्कृति पार्टीका नेता ध्रुव राईले देश यतिबेला गम्भीर दुःख र विपत्तिको अवस्थामा रहेको भन्दै राजनीतिक दलहरू राहत, उद्धार तथा पुनर्निर्माणका काममा एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन्।

बिहीबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पछिल्लो विपद्‍बाट जनताले ठूलो क्षति र पीडा भोग्नुपरेको भन्दै सबै राजनीतिक दलले सरकारलाई पूर्ण सहयोग गर्दै पीडितको पक्षमा मानवीय भावनाका साथ काम गर्ने सहमति गरेको बताए।

उनले भने, ‘देश दुःखमा छ। धेरैले ज्यान गुमाएका छन्। यो दुःखद घटनामा सबै राजनीतिक दल एकढिक्का भएर राहत, उद्धारदेखि सबै कामलाई अगाडि बढाउन सहमत भएका छौं।’

राईले आफ्नो पार्टीले पनि प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि कार्यकर्ता तथा युवाहरू परिचालन गरिरहेको बताए। पार्टीका आरएन राईको नेतृत्वमा टोली फिल्डमा पुगेर काम गरिरहेको र विभिन्न जिल्लाबाट सयौँ व्यक्ति उद्धार अभियानमा सहभागी हुन थालेको उनको भनाइ थियो।

पार्टीले पीडितलाई सहयोग गर्न चाहने व्यक्ति तथा शुभेच्छुकका लागि क्यूआरमार्फत सहयोग संकलनको व्यवस्था गरेको उल्लेख गर्दै उनले संकलित रकम प्रत्यक्ष नगदका रूपमा बाँड्ने योजना नरहेको स्पष्ट पारे।

सहयोगलाई आवश्यक सामग्री खरिद तथा राहत व्यवस्थापनमा प्रयोग गरी सरकारको निगरानीमा पारदर्शी ढंगले वितरण गरिने उनले बताए।

विभिन्न राजनीतिक दल वा संस्थाले छुट्टाछुट्टै सहयोग संकलन गर्न थालेमा पारदर्शितामाथि प्रश्न उठ्न सक्ने विषयमा उनले शंका लाग्ने व्यक्तिलाई सरकारकै राहत कोषमा सहयोग गर्न आग्रह गरे।

आफूहरूमाथि विश्वास गर्नेहरूले भने पार्टीले सञ्चालन गरिरहेको राहत अभियानलाई सहयोग गर्न सक्ने उनको भनाइ थियो।

राईले संकलित रकमको दुरुपयोग नहुने दाबी गर्दै पार्टीले यसअघिदेखि नै आफ्ना गतिविधि पारदर्शी ढंगले सञ्चालन गर्दै आएको बताए।

पार्टी अध्यक्ष बाहिर रहेकाले संकलित रकमलाई भविष्यमा कसरी सरकारको खातासँग समन्वय गर्ने भन्नेबारे औपचारिक निर्णय भइनसकेको उनले जानकारी दिए।

उनले विपद्का क्रममा केही व्यक्तिबाट देखिएका अमानवीय गतिविधिप्रति उनले कडा आपत्ति जनाए। मृतकको कानबाट समेत सुन निकालिएको दृश्य आफूले देखेको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्नलाई सरकारले कारबाही गर्नुपर्ने माग आफूले व्यक्तिगत रूपमा गृहमन्त्रीसमक्ष राखेको उनले बताए।

राईले विपद्पछिको राहत र उद्धारमा मात्र सीमित नभई प्रभावित क्षेत्रको वैज्ञानिक र दिगो पुनर्निर्माणमा पनि ध्यान दिनुपर्ने बताए । विगतका विपद्पछि जनभावना क्रमशः सेलाउँदै जाँदा पुनर्निर्माणका काम अधुरा रहने गरेको उल्लेख गर्दै उनले यसपटक त्यस्तो हुन नदिन आग्रह गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!