बुधबार, ०७ अक्टोबर २०२६

आफ्नो आलोचना गर्ने नेता कार्यकर्तालाई ओलीले दिए आममाफी, अब उप्रान्त नसहने

News Image
• • •

एमाले अध्यक्ष केपी ओलीले आफ्नो आलोचना गर्ने नेता कार्यकर्तालाई आममाफी दिएका छन्।

भर्खरै सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू समेटेर जारी गरिएको ‘अन्तरपार्टी निर्देशन-३’ मा ओलीले केन्द्रीय कमिटीको बैठकको मितिलाई कटअफ बैठक मानेर त्यसअगाडि आफ्नो विरोध गर्नेहरूलाई माफी दिने बताएका हुन्।

पार्टीमा हुर्किदै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गरी एकतावद्ध र सुदृढ पार्टी निर्माण गर्न ओलीले कटअफ तोकेका हुन्।

अपानिमा भनिएको छ–

पार्टीको नीति, निर्णय र नेतृत्वको विरूद्ध सार्वजनिक रूपमा आलोचना वा विरोध गर्ने, स्वेच्छाचारी, अराजक वा अनुशासनहीन क्रियाकलाप गर्ने वा गुटबन्दी गर्ने प्रवृतिमा पूर्णरूपमा रोक लगाउने र पार्टीमा अनुशासन पुनर्स्थापित गर्ने। आजसम्म जो जस्ले जे-जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने। केन्द्रीय कमिटीको चालू बैठकलाई कटअफ बैठक मान्ने।

ओलीले अब उप्रान्त कसैले आफ्नो विरोध, आलोचना वा अपमान गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्।

अपानिमा भनिएको छ–

अब उप्रान्त कसैले पार्टीको नीति, निर्णय र नेतृत्वको विरूद्धमा सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा, अपमान गरेमा वा गुटबन्दी गरेमा वा अराजक तथा अनुशासनहीन क्रियाकलाप गरेमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने। त्यस्तो क्रियाकलाप गरेको पाइएमा कारवाहीको विषय बनाउने र कारवाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिने। पार्टीमा अनुशासनहीनता नियन्त्रण गर्न केन्द्रीय अनुशासन आयोग सक्रिय रहने । केन्द्रीय अनुशासन आयोगलाई यसअनुरूप अघि बढ्न कुनै व्यवधान वा अप्ठ्यारो भएमा केन्द्रीय कमिटीले बाधा अड्काउ फुकाएर भए पनि सहयोग गर्ने।

त्यस्तै ओलीले गत निर्वाचनमा पार्टीको हारबारे पनि समीक्षा गरेका छन्। पार्टी नेतृत्वको कारण निर्वाचनमा पराजय भोग्नुपरेको महासचिव शंकर पोखरेलको प्रतिवेदनको ठिक उल्टो ओलीले पराजयको दोष राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिलाई थोपरेका छन्।

अपानिमा भनिएको छ–

विभिन्न स्वार्थ समुह, डिजिटल अभियान, एक पक्षीय सूचना प्रवाह र एमाले विरूद्धका भावनात्मक कथाहरू एकैसाथ सक्रिय थिए। पुराना दल समस्या हुन्, पुरानो नेतृत्व भ्रष्टाचारको पर्याय हो र नेकपा (एमाले) त्यसको मुख्य प्रतिनिधि हो भन्ने गलत भाष्य निर्माण गर्ने निरन्तरको प्रयास थियो। नवयुवाहरूको भावनालाई निरन्तर रूपमा भड्काउनका लागि के-कस्ता संस्था संलग्न थिए र के-कस्ता प्रयासहरू गरेका थिए भन्ने कुरा पछिल्लो समयमा तथ्यगत रूपमा बाहिर आउँदै पनि छन्। निर्वाचनको मौन अवधिमा बीबीसी नेपाली सेवाले प्रशारण गरेको भिडियो डुकुमेन्ट्री हामीलाई कमजोर बनाउने प्रायोजित सामाग्री थियो भन्ने कुरा पछिल्ला समयमा प्रकाशित कार्की आयोग र मानवअधिकार आयोगको रिपोर्टले पनि पुष्टि गर्दछन् । अहिले पनि नेपालको राजनीतिमा देखिएको भूराजनीतिक चलखेलको तीव्रताले पनि जेनजी आन्दोलन र निर्वाचनमा त्यसको प्रभावलाई आकलन गर्न सकिन्छ।

रास्वपाले अल्गोरिदमको भरमा चुनाव जितेको दाबी गर्ने ओलीले एमालेको हारलाई भने सभाका निर्णयहरूलाई मोबाइलमा पुर्‍याउन नसक्नुलाई दिएका छन्।नयाँ पुस्ताका लागि मुख्य राजनीतिक चौतारो बनिसकेको डिजिटल मञ्चलाई एमालेले पूरक साधन मात्र ठान्नु कमजोरी रहेको ओलीको स्वीकारोक्ति छ।

अपानिमा भनिएको छ–

विरोधीको आरोप सरल, तर हाम्रो सत्य जटिल हुनपुग्यो। सरल आरोप जनताको मनमा छिटो बस्छ, जटिल स्पष्टीकरण सुन्न धैर्य चाहिन्छ। आधुनिक राजनीति केवल सही हुनुले मात्र सफल हुँदैन। सही कुरालाई सही समयमा, सही भाषामा, सही माध्यमबाट पुऱ्याउनु पनि हो। हामी तथ्य लिएर निकै ढिलो पुग्यौं। हामीले डिजिटल मञ्चलाई पूरक साधन ठान्यौं, जबकि नयाँ पुस्ताका लागि त्यही मुख्य राजनीतिक चौतारो भइसकेको थियो। हामीले सभाको भाषालाई मोबाइलको भाषामा बदल्न एकदमै ढिलो गर्‍यो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!