सोमबार, १२ अक्टोबर २०२६

दिल्ली उडे गृहमन्त्री

News Image
• • •

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन आज सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्।

गृहमन्त्रीको कार्यभार सम्हालेयता उनको यो पहिलो औपचारिक वैदेशिक भ्रमणको रूपमा रहेको छ। 

बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास) अन्तर्गत महत्वपूर्ण सहकार्यको क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रुपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो।

उक्त संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो।

मिति २०८३ असोज २७ गते (तदनुसार १३ अक्टोबर २०२६) मंगलबार भारतको नयाँ दिल्लीमा हुन गइरहेको उक्त बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरू उक्त बैठकमा सहभागी हुनेछन्। 

उक्त बैठकमा बिमस्टेक क्षेत्रमा रहेका लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा, साईबर अपराध लगायतका अन्तरदेशीय एवम् क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धनका लागि छलफल हुनेछ। सो क्रममा सुरक्षा क्षेत्रका बिमस्टेक स्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेजलाई पारित गर्ने एवम् घोषणापत्र जारी समेत हुनेछ। 

उक्त बैठकको क्रममा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई नेपालले प्राथमिकता दिनेछ।

बिमस्टेक सदस्य मुलुकमध्ये सबैभन्दा कम उमेरका गृहमन्त्री गुरुङले बैठकमा सहभागिताको दौरान आफ्ना समकक्षीहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका रहेको छ।

गृहमन्त्री गुरूङ असोज २८ गते बुधबार स्वदेश फर्किने कार्यतालिका छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!