बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणबारे छानबिन सुरु गरेको छ।
पार्टी महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै खगेन्द्रलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएपछि अनुशासन आयोगले छानबिन थालेको हो।
पार्टीको धारणा सार्वजनिक भएपछि सांसद सुनारमाथि लागेको आरोपबारे प्रमाणहरू संकलन गर्न थालेको रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले बताए।
एक सदस्यका अनुसार आयोगले खगेन्द्रलाई २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ। आयोगले खगेन्द्र र उनीसँग नाम जोडिएकी महिलासँग भेटेर कुराकानी गर्ने तयारी गरेको छ।
ती सदस्यले भने, ‘पार्टीमा प्रक्रिया, नियमावली र विधान छ, ती सबैलाई पालना गर्दै विषयको गाम्भीर्यतालाई लिएर गम्भीर छानबिन गर्छौं। निष्कर्ष के आउँछ पार्टी केन्द्रले थप प्रक्रिया अघि बढाउँछ।’
उनले पार्टीले निर्देशन दिइसक्दा पनि सांसद सुनारले सार्वजनिक प्लेटफर्ममा आएर स्पष्टीकरण दिनु गैरजिम्मेवारपूर्ण कार्य रहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘उहाँले पार्टीको निर्देशन उल्लंघन गर्नुभएको बुझेका छौं। स्पष्टीकरण सामाजिक संजालमा होइन आयोगमा आएर दिने हो,’ उनले भने।
सांसद सुनारले एक महिलालाई अश्लील गालीगलौच गरेको, धम्की दिएको अडियो सोमबार सार्वजनिक भएपछि पार्टीभित्र हलचल मच्चिएको छ।
रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले रास्वपाले विधि पछ्याउने तर गलत गतिविधि गर्नेलाई रक्षा नगर्ने स्पष्ट पारेका छन्।
‘अडियोमाथि छानबिन हुन्छ। यदी त्यो सम्बन्धित व्यक्तिको हो भन्ने प्रमाणित भयो भने पार्टी एउटा व्यक्तिको पछि सती जान सक्दैन,’ परियारले भने।
पार्टीका एक पदाधिकारीका अनुसार खगेन्द्रको चारित्रिक विषयबारे पार्टीभित्र पहिले पनि उजुरीहरू परेको थियो। ‘उहाँको चारित्रिक विषयमा पार्टीभित्र यसअघि पनि गुनासाहरू नआएका होइनन्, ती सबैलाई समेटेर अनुसन्धान गर्छौं। उहाँलाई पनि स्पष्टीकरणको मौका दिएका छौं,’ उनले भने।
ती पदाधिकारीले पार्टीमा राइट टू रिकलको व्यवस्थाबारे काम भइरहेको र त्यसको पहिलो अभ्यास सांसद सुनारबाट हुनसक्ने संकेत गरे।
उनले भने, ‘पार्टीमाथि निरन्तर प्रहार गर्ने, प्रतिष्ठामा आँच पुग्ने काम गर्ने त्यस्ता चरित्रका मान्छेहरूलाई पार्टीबाट सफाइ गर्नुपर्छ। हामी राइट टू रिकलको पनि व्यवस्था गर्दैछौं, पहिलो कारबाही उहाँबाटै सुरु गर्नुपर्छ। अब जति क्षति भयो भयो अब योभन्दा थप क्षति बोक्न सक्दैनौं। गृहमन्त्रीलाई जस्तै उहाँलाई हामी बोक्न सक्दैनौं।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया