आइतबार, २२ नोभेम्बर २०२६

प्रधानमन्त्रीको भारत भ्रमणमा लामो समयदेखि थाती मुद्धा उठाउन एमाले नेता भट्टराईको सुझाव

News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुका साथै लामो समयदेखि थाती रहेका द्विपक्षीय मुद्दा समाधान गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने विज्ञले सुझाव दिएका छन्।

पूर्व प्रधानमन्त्री केपी ओलीका सल्लाहकार समेत भइसकेका एमाले नेता राजन भट्टराईले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सम्पर्क सञ्जाल र आपसी सहकार्य विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।

भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै भट्टराईले नेपाली प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको करिब साढे दुई वर्षपछि भएकाले यसको कूटनीतिक महत्व रहेको बताए। दुई देशबीच धेरै विषयमा सहकार्य र समन्वय आवश्यक रहेकाले नियमित उच्चस्तरीय भ्रमण तथा संवाद महत्वपूर्ण हुने उनको भनाइ छ।

‘भारत र नेपालबीच धेरै विषय र सम्झौता छन्। हामी सबैभन्दा निकट छिमेकी हौँ। दुई देशबीच यति धेरै साझा मुद्दा र सहकार्यका क्षेत्र भएकाले उच्चस्तरीय भ्रमण र आपसी समझदारी सधैँ महत्वपूर्ण हुन्छन्,’ उनले भने।

भारत नेपालको प्रमुख विकास साझेदार, सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीकर्ता भएकाले भ्रमणमा विकास सहकार्यलाई प्राथमिकता दिनुपर्ने भट्टराईले बताए। उनले विपद्पछिको पुनर्निर्माण तथा संकटका समयमा भारतले गर्दै आएको सहयोगलाई निरन्तरता दिने विषयमा पनि छलफल हुनुपर्ने उल्लेख गरे।

भट्टराईले जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिको प्रयोगमार्फत विकासलाई तीव्रता दिने विषयमा समेत दुई देशबीच सहकार्यको सम्भावना रहेको बताए। त्यस्तै, सडक तथा हवाई सम्पर्क विस्तार, पेट्रोलियम पाइपलाइनको विस्तार र ग्यास पाइपलाइन निर्माणको सम्भावना पनि भ्रमणका क्रममा छलफल गर्नुपर्ने विषय रहेको उनको भनाइ छ। क्रिकेट पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि सहकार्य अघि बढाउन सकिने उनले बताए।

आठ वर्षदेखि थाती प्रबुद्ध समूहको प्रतिवेदन

भट्टराईले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनलाई पनि भ्रमणमा उठाउनुपर्ने विषयका रूपमा उल्लेख गरेका छन्। दुवै देशका प्रतिनिधि सम्मिलित समूहले द्विपक्षीय सम्बन्धको समग्र अवस्थाबारे अध्ययन गरी सहमतिमा तयार पारेको प्रतिवेदन करिब आठ वर्षदेखि कार्यान्वयन प्रक्रियामा अघि बढ्न नसकेको उनले बताए।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा उक्त प्रतिवेदनले प्राथमिकता पाउने र त्यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउने दिशामा छलफल हुने अपेक्षा गरेको उनको भनाइ छ।

‘हामीलाई भारतसँग अत्यन्त राम्रो सम्बन्ध आवश्यक छ र हाम्रो अपेक्षा पनि यही हो,’ भट्टराईले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!