
चीन भ्रमणमा गएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल शनिबार स्वदेश फर्किएका छन्।
स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले वामपन्थी आन्दोलन विभाजित हुनुमा मुख्य जिम्मेवारी नेकपा एमाले नै रहेको बताए।
उनले भने, ‘अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो। त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो। त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौं, भनेर चाहने हो भने अलि ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ।’
उनले एमालेले वामपन्थी एकतामा अग्रसरता लिएमा ठूलो संख्याको वाम शक्तिहरू एकताबद्ध हुन सक्ने सम्भावना अझै बाँकी रहेको जिकिर गरे।
उनले पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय भएको चर्चाकाबीच भण्डारीको पक्षमा खुलेर अभिव्यक्ति दिए।
‘विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा पुनः प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र नेतृत्वको दाबी गर्ने हो भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ खनालले भने।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति राज्यको व्यवहारप्रति पनि उनले चिन्ता व्यक्त गरे। खनालले भने, ‘रविले गल्ती गरे गरेनन् भन्ने ठोस प्रमाण मसँग छैन। तर, राज्यले उनीमाथि अनावश्यक ज्यादती गरिरहेको महसुस मलाई पनि भएको छ।’
खनालको चिन भ्रमण पार्टी आन्तरिक सुदृढीकरण, दुई पक्षीय सम्बन्ध सुदृढीकरण र वाम आन्दोलनको एकता सन्देशका लागि भएको जनाइएको छ।
१ .
२ .
३ .
४ .
५ .