बिएल संवाददाता
नेपाली राजनीतिमा एउटा छुट्टै इतिहास कायम गरेको बिराटनगरस्थित कोइराला निवासको आफ्नै परिचय छ। यो मात्रै एक व्यक्तिको निजी निवासमात्रै होइन बरु नेपाली राजनीतिका कैयौ मोडहरूमा ‘कोइराला निवास’ एक निर्णायक विन्दु पनि हो।
बिपीदेखि गिरिजाप्रसाद र अहिले डा. शेखर कोइरालासम्मले यो घरबाट राजनीतिका गम्भिर निर्णायक पाइलाहरू अघि बढाएका छन्।
बुधबार यही कोइराला निवासमा अलि फरक दृश्य देखियो। यो निवासमा कुनै कोइराला होइन, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण झुल्किए।
पत्रकारहरूसँग हाँसो ठट्टामात्रै होइन आफ्ना नेता कार्यकर्तासँग निकै आत्मीय भएर उनले कोइराला परिवार र त्यो कोइराला निवासलाई राजनीतिको ‘पवित्र स्थल’ भनिरहेका थिए।
रुपन्देहीमा उपचुनाव र नेपाली काँग्रेस १५ औं महाधिवेशन नजिकिइरहेका बेला खाण विराटनगर अझ त्यो पनि कोइराला निवासमा देखिनु अर्थपूर्णमात्रै होइन, त्यो एउटा सन्देश पनि हो।
१५औं महाधिवेशनमा पनि सभापतिका सशक्त दाबेदार नेता डा. शेखर कोइराला यही निवासमा बस्छन्। बुधबार खाँण त्यहाँ हुँदा कोइराला भने काठमाडौंमा थिए।
यसअघि पनि खाँणले आफ्नै गृहजिल्ला पुगेका डा. शेखर कोइरालाकै अघि सार्वजनिकरुपमा आफू कोइराला कित्तामा उभिएको संकेत गरेका थिए।
निकै लामो मन्तव्यका क्रममा खाणले डा. कोइरालातिर फर्केर भनेका थिए ‘पढेलेखेर तपाईंहरूजस्तो डाक्टर हुन सकिएन। अब हुने कुरा पनि भएन। तर राजनीतिमा भने डाक्टरहरूको साथमै रहनेछु। यो साथ रहिरहनेछ।’
बुधबार कोइराला निवासमा पत्रकारहरूसँ खाँण अघिपछि भन्दा निकै खुले। नक्कली भुटानी शरणार्थी प्रकरणमा लामो समय जेल बसेर छुटेपछि सायद उनी पहिलोपटक पत्रकारहरूसँग यति धेरै खुलेका हुन्। उनी पूर्व गृहमन्त्री पनि हुन्। र त्यो प्रकरणपछि उनी सभापति देउवा समूहबाट अलि टाढै छन्। त्यो बेला डा. शेखर कोइरालाले भने पटक पटक कारागार पुगेरै खाँणलाई भेटेका थिए।
खाडले कोइराला निवासबाट कोइराला परिवार अनि उनीहरूको राजनीतिक योगदानबारे लामो ब्यख्या पनि गरे। कोइराला निवासलाई राजनीतिको पवित्र भूमि भन्दै उनले आफू एकपटक मात्रै होइन पटक पटक यहाँ आएको र अरु राजनीतिक नेता कार्यकर्ताहरूलाई पनि एकपटक कोइराला निवास पुग्नैपर्ने बताए।
‘कोइराला निवासमा पार्टी नेता शेखर कोइराला बस्नुहुन्छ। यहाँ पहिला गिरिजाप्रसाद कोइराला बस्नुहुन्थ्यो। त्योभन्दा अगाडि पिताजी कृष्णप्रसाद कोइराला पनि बस्नुहुन्थ्यो। कृष्णप्रसाद कोइरालाले विराटनगरको विस्तार गर्नुभएको हो। राणा शासनको खिलाफमा प्रजातन्त्रको पक्षमा आन्दोलनमा रहँदा उहाँ थुनामा पर्नुभयो र जेलमै उहाँ दिवंगत हुनुभएको हो’ खाँणले भने ‘त्यसकारण कोइराला सम्झँदाखेरि हाम्रो मेयर नागेश कोइरालामात्रै सम्झेर भएन। कृष्णप्रसाद कोइराला, बीपी कोइराला, मातृका कोइराला, गिरिजा कोइराला, सुशील कोइराला पनि सम्झिनुपर्यो। त्यसकारण कोइराला निवासलाई पार्टीको गुटको हिसाबले हेर्ने होइन। कोइराला निवास हाम्रो लागि एउटा हिसाबले पवित्र भूमि हो, कुनै धार्मिकस्थल गएकोजस्तै हो। पार्टीका नेता–कार्यकर्ताहरूका लागि यो प्रेरणाको स्रोत हो।’
यो कुरा उनले पटक पटक दोहोर्याएका थिए।
त्यस्तै खाणले स्व. गिरिजाप्रसाद कोइरालालाई आफ्नो राजनीतिक जीवनको आदर्शपात्रका रुपमा अर्थ्याए।
‘आदरणीय गिरिजाप्रसाद कोइरालाले २०५४ सालमा नेपालगञ्जको महासमितिमा मलाई तरुण दलको अध्यक्षको जिम्मेवारी दिनुभयो। २०५६ सालको आम निर्वाचनमा म उम्मेदवार नभइकन देशभरि तरुण दललाई परिचालन गर्ने र नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा लागेँ’ खाँणले भनेका छन् ‘चुनाव सम्पन्न भएर कांग्रेसको बहुमत आएपछि आदरणीय गिरिजाप्रसाद कोइरालाले मलाई कांग्रेसको केन्द्रीय समितिमा लानुभयो, २०५६ सालमा। २०५६ सालदेखि आजसम्म म पार्टीको केन्द्रीय समितिमा छु। जुन केन्द्रीय समितिमा पहिला बीपी कोइराला, स्वर्णशमशेर, गणेशमानजी, किसुनजी, गिरिजाबाबु हुनुहुन्थ्यो, त्यो केन्द्रीय समितिमा हामी छौँ। त्यो हाम्रो लागि धेरै ठुलो कुरा हो।’
पत्रकारहरूले उनलाई पार्टीको महाधिवेशनमा उम्मेदवारी, समसामयिक राजनीति तथा गठबन्धन सरकारका बारेमा प्रश्नहरू राखेका थिए। उनले आगामी महाधिवेशनमा आफ्नो गुट र उम्मेदवारीका बारेमा पनि केही खुलाएनन्। त्यस्तै गठबन्धन सरकारको विरोध पनि गरेनन्। बरु राम्रो काम गर्दै आगामी २०८४ सम्मै यो गठबन्धन टिकाउनुपर्ने आवश्यकता औंल्याए। त्यस्तै उनले हालैमात्र नेपाली काँग्रेसको अनुशासन समितिले कोइराला निकट नेताहरूलाई गरेको कारबाहीबारे पनि नकारात्मक टिप्पणी गर्न चाहेनन्।
‘त्यसलाई ठीक वा बेठिक भन्ने पक्षमा म छैन। त्यो अनुशासन समितिको काम हो। कारबाही स्वभाविकरुपमा त्यही समितिले गर्ने हो। ठीक वा बेठिक भन्ने पनि स्वभाविकै हो। प्रश्नहरू उठ्छन्। अब त्यसको समीक्षा त केन्द्रीय समितिले गर्ला नि’ खाँणले भने।
अन्तिममा पत्रकारहरूले सोधे ‘रुपन्देही उपचुनावमा तपाईंको उम्मेदवारीको चर्चा छ नि?’
हाँस्दै खाँणले जवाफ दिए ‘अहिले त म मोरङमा छु…।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया