
‘नेकपा’बाट अलग अलग भएर आआफ्नो बाटो समाएको लगभग चार वर्षपछि वामदेव गौतम र माधव नेपाल फेरि एकपटक एउटा कसिलो अंगालोमा कसिएका छन्।
कम्युनिष्ट राजनीतिको अनेक आरोह-अवरोह अनि कम्युनिष्ट आन्दोलनका कैयौं भङ्गालाहरू सँगसँगै पार गरेका यी दुई नेता नेकपा एमाले हुँदै माओवादीलाई मिसाएको ‘नेकपा’पछि अलग अलग भएका थिए।
२०७४ सालको निर्वाचनमा चुनावी गठबन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी सरकारमा जाँदा एक भइसकेका थिए। त्यसपछि दुबै पार्टी विघटन भएर ‘नेकपा’ जन्मियो। त्यसमा दुई अध्यक्ष भए। एउटा अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइ बहुमत भएको नेकपाको सरकारको नेतृत्व गरे। उनले सरकार चलाउने भए। एउटा भद्र सहमतिअनुसार पार्टी भने पुष्पकमल दाहाल प्रचण्डले पार्टी (नेकपा) हाँक्नुपर्ने थियो।
तर प्रधानमन्त्री बन्ने महत्वकांक्षाले थिचिएका प्रचण्डले प्रधानका लागि आलोपालो प्रणालीको झिँझो निकाल्न थाले। त्यो बेलासम्म एकातिर माउ पार्टी एमाले अनि अर्को माउ पार्टी माओवादीका नेताहरूबीच आपसी कटुता झाँगिइसकेका थिए। त्यसमा प्रचण्डले माधव, झलनाथ अनि वामदेवजस्ता नेताहरूलाई पनि अघि सारे। जसले ओलीको नेतृत्व बाध्यताले स्विकारीरहेका थिए।
पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा ओलीले संविधानमा परिकल्पना नै नगरिएको एउटा ऐतिहासिक घटनामा हात हाले। उनले पटक पटक प्रतिनिधिसभा विघटनको निर्णय गरे। अन्तिममा त्यही निहुँमा प्रतिपक्ष नेकपा एमालेसँग मिलेर माधव नेपालहरूले ओली सरकारविरुद्ध सडक आन्दोलन नै गरे। अन्तिममा सर्वोच्चले ओलीलाई पदमुक्त गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्यो।
त्यहीबेला सर्वाच्चको अर्को फैसलाले ‘नेकपा’ भन्ने पार्टी नै विघटन गरिदियो र नेकपा एमाले अनि नेकपा माओवादीलाई पहिलाकै हैसियतमा फर्काइदियो। नेपाली राजनीतिमा करिब २ वर्षपछि फेरि यी दुई पार्टी अस्तित्वमा आए। तर माधव, झलनाथ अनि वामदेवहरू नेकपा एमालेमा फर्किएनन्। बरु केही माओवादीका नेताहरू उतै (एमालेतिरै)बसे।
माधव अनि झलनाथहरू मिलेर नयाँ पार्टी खोले। अहिले माधव नेपाल अध्यक्ष र झलनाथ खनाल ‘सम्मानित नेता’ रहेको नेकपा एकीकृत समाजवादी त्यही पार्टी हो जहाँ लगभग चार वर्ष बरालिएका वामदेव गौतम पनि समाहित भएका छन्, माधवसँगको कसिलो अंगालोसँगै।
यो चार वर्षमा गौतम राजनीतिक रुपमा निकै भौतारिए। नेपालका कम्युनिष्टहरूलाई एक बनाउनका लागि उनले अनेक प्रयत्न पनि गरे। नेकपा एमालेमा फर्किनका लागि उनले पटक पटक धेरै पटक अनेकानेक कोसिस पनि गरे। तर एमालेले उनलाई पर्खाइरह्यो। ओलीले ‘हुन्छ आउनुस् न त…’ भनिरहे। तर कहिल्यै जिम्मेवारीबारे बोलेनन् र औपचारिकरुपमा वामदेवलाई कहिल्यै बोलाएनन्।
‘अब म यहाँ आएको छु। कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन र त्यसलाई एकीकृत गर्नका लागि म सय वर्ष बाँच्छुजस्तो लाग्छ’ माधव नेपालको अंगालोमा बेरिदैं शुक्रबार राष्ट्रिय सभाहलमा भेला भएका नेता कार्यकर्तामाझ वामदेवले भने ‘मेरै जीवनकालमा समाजवाद आएको देख्न चाहन्छु।’
उनले यी चार वर्षहरूमा आफूले निकै एक्लो महसुस गरेको भन्दै अब नेकपा एकीकृतमा समाहित भएको घोषणा पनि गरे। तर अहिले आउँदा आफू एक्लो भने नभएको दाबी पनि उनले गरे।
‘एक्लै हुँदा कहिल्यै पनि सफल भइनँ। चार वर्ष लाग्यो। आज आउँदा म एक्लै आएको छैन। नेकपा राष्ट्रिय एकता अभियानको ७५ प्रतिशत केन्द्रीय समितिको समर्थन बोकेर आएको छु। एउटा प्रदेश कमिटीको पनि समर्थन बोकेर आएको छ। उपत्यका समिति अनि नौ वटा जिल्ला कमिटी सबैको समर्थन बोकेर आएको छु’ गौतमले भने ‘चार वर्षपछि धेरैलाई ल्याएर आएको छु…।’
एकता घोषणासभामा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गौतमलाई स्वागत गरे। उनलाई अनि समाहित भएका सबैलाई उनले बधाई दिए। त्यो घोषणासभामा कसै कसैले नेकपा एमालेसँगको एकताका बारेमा पनि कुरा उठाएका थिए।
आफ्नो पालोमा बोल्दै माधवले प्रस्टसँग भनिदिए ‘भ्रममा नबस्नुस् नेकपा एमालेसँग एकता हुँदैन…’
उनले आफ्नो पार्टीलाई सिध्याउन खोज्ने एमालेसँग कुनै पनि हालतमा एकता हुननसक्ने प्रस्ट पनि पारे।
‘नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन। आजको विन्दुमा उभिएर भन्दाखेरि नेकपा एमालेसँग एकता हुने कुनै सम्भावना छैन’ उनले भने ‘त्यसप्रति लसपस कसैको छ भने कसैलाई केही लोभ छ भने मलाई भन्नु केही छैन।’
नेकपा एकीकृतले वामदेवलाई पार्टीको तेस्रो वरियताको नेता बनाउने छ। उनीअघि ‘सम्मानित’ नेता झलनाथ खनाल हुनेछन्। अनि वामदेव ‘वरिष्ठ नेता।’
१ .
२ .
३ .
४ .
५ .