शनिबार, १९ जुलाई २०२५

राजनीतिक सक्रियता सँगै भारत जाने तयारीमा विद्यादेवी

News Image
• • •

सरकारी सेवा सुविधा त्यागेर एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी केही समययता पार्टी तथा देशीय राजनीतिमा पनि सक्रिय भइरहेकी छिन्। 

भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई लिएर अहिले एमालेभित्र पनि मत विभाजित छ। पार्टीकै केन्द्रीय पदाधिकारीहरू त्यसमा विभाजित छन्। पार्टी अध्यक्ष ओलीले सक्रिय राजनीतिमा विद्या भण्डारीको पुनरागमन हुन नसक्ने दाबी गर्दै आएका छन्। 

पार्टीले विधिसम्मतरुपमा त्यसबारे निर्णय गर्ने भन्दै उनले विद्यादेवी भण्डारीको पार्टी सदस्यतासमेत नविकरण नभएको जिकिर गरेका छन्। तर पार्टी केन्द्रीय कार्यालयले भने उनको सदस्यता नविकरण गरिसकेको छ। भण्डारी आफैले पनि त्यसबारे प्रस्ट्याएकी थिइन्। 

शुक्रबारको एमाले पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीले भण्डारीको सदस्यता नविकरण नभएको दाबी गरेका हुन्। उनले संवैधानिक व्यवस्थाअनुसार भण्डारीलाई सक्रिय राजनीतिमा फर्किनुहुन्न भनेरै दुई दुईपटक पार्टीले राष्ट्रपतिमा पठाएको पनि उल्लेख गरे। 

विद्यादेवीको राजनीतिक पुनरागमनबारे अहिले अरु राजनीतिक दलहरू पनि विभाजित छन्। यद्यपि उनीहरूले त्यसबारे आधिकारिक प्रतिक्रिया त दिएका छैनन्। तर पार्टीका नेताहरूले त्यसबारे आफ्ना धारणा व्यक्त गरिरहेका छन्। 

योबीचमा भण्डारीको सक्रियता पनि बढिरहेको छ। केही दिनअघि भण्डारी र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको थियो। डा. कोइराला नेपाली काँग्रेसका सभापतिका आंकाक्षी हुन् अघिल्लो महाधिवेशनमा पनि उनी पार्टी सभापति शेरबहादुर देउवाका प्रत्यासी थिए। 

नेकपा एमालेसँग सत्ता साझेदारी गरेको नेपाली काँग्रेसका नेता डा. कोइराला पार्टीभित्रै भने ‘प्रतिपक्ष’को भूमिकामा छन्। पार्टी र सरकारको निरन्तर आलोचनामा उत्रिएका डा. कोइरालाले केही दिनअघि भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा पनि पार्टी र सरकारको कार्यशैलीमाथि कडा टिप्पणी गरेका थिए। त्यही बैठकले उनीनिकट नेता कार्यकर्ताहरूलाई अनुशासन समिति लगाएर ‘कारबाही’ गरेपछि अहिले काँग्रेसभित्र पनि थप विवाद र बहस चुलिएको छ। 
योबीचमा उनले प्रतिपक्ष तथा अरु दलका नेताहरूसँग भेटघाट पनि बढाएका छन्। भण्डारीलाई भेट्नुभन्दा अघि कोइरालाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेका थिए। 

नेकपा एमालेभित्र स्पष्ट गुट बनाएर अघि बढ्न थालेकी पूर्वराष्ट्रपति भट्टराईलाई भेट्न आजभोलि उनको निवासमा नेता कार्यकर्ताको भीड नै लाग्छ। एमालेकै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको कमदलाई समर्थन गरेका छन्। 
अहिले नेकपा एमालेको पोलिटब्यूरो बैठक चलिरहेको छ। आज पनि त्यो बैठक जारी रहनेछ। खासगरी आगामी भदौ दोस्रो साता सुरु हुने एमालेको विधान महाधिवेशनको तयारीका लागि पोलिटब्यूरो निरन्तर छन्। त्यसमा आगामी महाधिवेशनमा विधान संशोधनका प्रस्तावहरू पेश भएका छन्। 

संशोधित विधानको मस्यौदा भने ओलीकै पक्षमा आएको छ। त्यसमा आगामी पार्टी महाधिवेशनमा अध्यक्षका उम्मेदवारमाथि लगाइएको ७० वर्षे उमेर हद हटाइएको छ भने लगातार दुई कार्यकालमात्रै अध्यक्ष लड्न पाउने व्यवस्था पनि खारेज गरिएको छ। त्यी व्यवस्था कायम रहिरहँदा ओली अध्यक्ष हुन पाउँदैनथे। 

भण्डारीको राजनीतिक पुनरागमनको घोषणासँगै नेपाली राजनीति तातिइरहेका बेला पूर्व राष्ट्रपति भण्डारी भने छिमेकी राष्ट्रहरूको भ्रमण तालिका बनाउन व्यस्त छिन्। केही समयअघि उनी चीन भ्रमणमा गएकी थिइन्। त्यहाँ चीन सरकारले उनलाई ‘राष्ट्रप्रमुख’ सरहकै स्वागत र सत्कार गरेको थियो। यसपछि उनी भारत भ्रमणको तयारीमा छिन्। 

भण्डारीको सचिवालय स्रोतका अनुसार केही दिनभित्रै उनी भारत भ्रमण जानेछिन्। त्यसको लागि सचिवालयले तयारी गरिरहेको छ। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?