शनिबार, १९ जुलाई २०२५

ट्रम्पले पत्रकारसँग मागे दश अर्ब डलर क्षतिपूर्ति

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2025-07-19 10:36:00
News Image
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका एक प्रतिष्ठित सञ्चार माध्यमका मालिक र उनका दुई पत्रकारविरुद्ध मुद्दा दायर गरेका छन्। साथै ट्रम्पले उनीहरूले आफ्नो प्रतिष्ठामा चोट पुर्‍याएको मानहानी गरेको भन्दै १० अर्ब डलर क्षतिपूर्ति पनि माग गरेका छन्। 

यो एउटा निकै विवादित र आपराधिक पृष्ठभूमिका व्यक्तिसँग ट्रम्पको सम्बन्ध रहेको भनेर पुष्टि गर्ने  एउटा समाचारको विषय हो। जसबाट ट्रम्प आफ्नो मानहानी भएको र प्रतिष्ठामा आँच आएको ठान्छन्। 

वाल स्ट्रीट जर्नल अमेरिकाको प्रतिष्ठित र पुरानो सञ्चार संस्था हो। त्यसका मालिक रुपर्ट मर्डोक हुन्। मर्डोक फक्स न्यूजका पनि मालिक हुन् जसले ट्रम्पलाई अनवरत समर्थन गर्दै आएको छ। 

तर वाल स्ट्रिट जर्नलका दुई पत्रकार खाजिद सफदर र जोसेफ पलाजोलोले पत्रिकामा ट्रम्पको एक विवादित व्यक्तिसँगको सम्बन्ध पुष्टि हुने एउटा आलेख छापे। त्यो के थियो भने एकजना धनाढ्य जेफरी एस्टीनको ५० औं जन्मदिनमा ट्रम्पले उनलाई एउटा शुभकामना पत्र लेखेका थिए। ट्रम्पले यसलाई अस्विकार गरेका छन् र आफूले उनलाई कुनै पत्र नलेखेको भनेका छन्। त्यो लगभग २२ वर्षअघिको कुरा थियो। 

जेफरी अमेरिकाका धनाढ्य र शक्तिशाली व्यक्तिहरूसँग निकै बलियो सम्बन्ध भएका व्यक्ति हुन्। उनी आफै पनि एक धनाढ्य नै हुन्। क्यारेबियनको एउटा निजी टापुसमेत जेफरीकै हो। जहाँ उनले आफूले ‘विदा’ मनाउने र मनोरञ्जनका लागि भनेर केही संरचनाहरू पनि बनाएका थिए। 

तर त्यहाँ ‘कलिला किशोरी’हरू राखिन्थे र जेफरी अनि उनकी बेलायती प्रेमिका गलिन म्याक्सवेलले धनाढ्य तथा शक्तिशाली व्यक्तिहरूलाई त्यहाँ लैजान्थे। त्यसका लागि उनीहरुको निजी बिमान पनि थियो। ती धनाढ्य र शक्तिशाली व्यक्तिहरूका लागि उनीहरूले ती कलिला किशोरीहरूको व्यवस्था गरिदिएका थिए। 

त्यसका बारेमा विस्तारै सबै तथ्यहरू खुल्दै गएपछि उनीमाथि अनुसन्धान पनि भएको थियो र सन् २००६ मा उनी पक्राउ परेका थिए। त्यो बेला उनलाई लगभग १८ महिना सजाय सुनाइएको थियो। तर पूरै सजाय नकाटेर उनी बाहिर निस्किन सफल भए। 

उनले प्रयोग गर्दै आएकी एकजना महिलाले सार्वजनिक बयान दिएपछि जेफरी फेरि सन् २०१९ मा पक्राउ परे। उनकी प्रेमिका पनि पक्राउ परेर अहिले जेलमै छिन्। जेफरीले भने जेलभित्रै आत्महत्या गरे। बयान दिने ती महिलाले पनि आत्महत्या गरिन्। 

त्यो बेला उनीसँग खिचिएका ट्रम्पका तस्वीरहरू पनि सार्वजनिक भएका थिए। तर ट्रम्पले त्यसलाई निरन्तर अस्विकार गर्दै आएका छन्। 

अहिले फेरि उनीसँगै जोडिएका आलेखहरू प्रकाशित हुन थालेपछि ट्रम्पका वकिल एलेजान्द्रो ब्रिटोले ती सञ्चार संस्थाका मालिक र पत्रकारविरुद्ध मुद्दा हालेका हुन्। 

वकिल ब्रिटोले भनेका छन् ‘त्यो अखबारलाई थाहा थियो कि त्यो आलेख झुटा हो। तर सच्चाईको परवाह नै नगरेर उनीहरूले ट्रम्पप्रति दुर्भावना साँचेर त्यो कदम उठाएका हुन्।’ 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?