
बिएल संवाददाता
नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जित कर्णले पार्टी नेताहरूमाथि अनुशासनको डण्डा चलाइएको प्रकरणमा पार्टी सभापतिको कुनै हात नरहेको दाबी गरेका छन्।
प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अनुशासन समिति कांग्रेसको केन्द्रीय कार्यसमिति भन्दा फरक र अधिकार सम्पन्न भएकोले कसैले प्रमाणसहित उजुरी दिएमा प्रमाणको आधारमा कारबाही गर्न सक्ने बताए।
अनुशासन समितिको कारबाहीलाई केन्द्रीय समितिले अनुमोदन गर्ने/नगर्ने निर्णय गर्ने भएकोले समितिमा छलफल हुन बाँकी गरेको उनले बताए।
उनले देउवा पार्टीको जिम्मेवार नेता भएकाले नेपाली कांग्रेस नफुटाउने ठोकुवा गरे। देउवाकै नेतृत्वमा कांग्रेस सबभन्दा ठूलो पार्टी बनेको उनको भनाइ छ।
त्यस्तै संसदीय दलको नेता बन्न शेखर कोइरालाले सक्रियता बढाएको विषयमा ‘कांग्रेसमा जसको बहुमत छ उसले दलको नेतृत्व गर्ने’ भएकोले बहुमत भए गर्न सक्ने बताए।
उनले भने ‘शेखर दाईसँग संसदीय दलको नेता बन्न कति संख्या छ उहाँलाई नै थाहा होला। यदी उहाँसँग बहुमत छ भने संसदीय दलको निर्वाचन समितिमा दर्ता गर्नुहोला, प्रक्रियामा जानुहुन्छ होला। नेपाली कांग्रेसमा जसको बहुमत छ उसले नेतृत्व गर्नुहुन्छ।’
उनले एमालेसँग गठबन्धन गर्दा गरिएको वाचाअनुसार सरकारले काम गर्न नसकेको भनेर शेखर कोइरालाले उठाएको कुरा जायज रहेको बताए।
उनले अहिले संविधान संशोधन गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने सवालमा कांग्रेस पनि चुकिरहेको शेखरको निश्कर्षमा आफ्नो समर्थन रहेको उल्लेख गरे।
उनले अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा जोड दिए। उनले शेरबहादुर देउवा आफैं ओली सरकारको कार्यशैलीप्रति सन्तुष्ट नरहेको जिकर गरे। उनले देउवा नेतृत्वको सरकार बनाउदा पहिलो प्राथमिकता एमालेलाई नै दिने बताए। त्यसपछि नभए अन्य विकल्पमा जाने बताए।
‘केपी ओलीजीले आफैंले स-सम्मान नैतिक रुपमा राजीनामा दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर ‘देउवाजी तपाईं संविधान संशोधनको नेतृत्व गर्नुस्, अगाडि बढ्नुस् म सहयोग गर्न तयार छु’ भन्नुपर्छ।’
१ .
२ .
३ .
४ .
५ .