शनिबार, २३ अगस्ट २०२५

नेपाली भूमि अतिक्रमणविरुद्ध भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

News Image
• • •

संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाइ अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रविरुद्ध विरोध प्रदर्शन गरेको छ।

शनिबार लौनचौरस्थित भारतीय दुतावास अगाडि संगठनले नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले सधैं कुटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरेपनि त्यो खालको पहलकदमी नगरेको बताए।

सरकार यसमा गम्भीर बन्नुपर्ने र छलफलको विषय बनाउनुपर्ने उनको भनाइ छ। लिपुलेकको सन्दर्भमा पटक–पटक विदेश सचिवस्तरीय समिति बनेता पनि अन्तिममा आएर यो विषयमा भारत बाहिरिएको उनी बताउँछन्। 

उनले भने, ‘हाम्रो सरकारले कुटनीतिक पहल गर्ने कुरा त छँदैछ। तर सँधै कुटनीतिक पहल भनेर बस्ने तर पहलकदमी चाँही गरिदैन। भारतले यो विषयमा छलफल नै गर्न चाहेको छैन।’

नेपालसँग प्रशस्त प्रमाणहरू रहेकोले यो मुद्दालाई नेपाल र भारतबीचको विषयभन्दा पनि अन्तर्राष्ट्रियकरण गरी अन्तराष्ट्रिय अदालतसम्म गएर सिमानाको लागि लड्नुपर्ने उनको भनाइ छ।

प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय स्वाधिनताको रक्षा गर, लिपुलेक हाम्रो हो, नेपाली भूमिमाथिको हस्तक्षेपको बन्द गर, भारतीय सेना कालापानी, छोड, छोड, छोड कालापानी छोड, नेपाली भूमि अतिक्रमण गर्ने निर्णय अबिलम्व खारेज गर लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!