मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

लेखजंगले सार्वजनिक गरे पहिलो श्रीमतीसँगको ‘डिभोर्स पत्र’

News Image
• • •

रुपन्देही-३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार चुनिएका डा. लेखजंग थापाले पहिलो श्रीमतीसँगको डिभोर्स पेपर सार्वजनिक गरेका छन्।

पार्टीको प्राइमरी इलेक्सन जितेलगत्तै केही सञ्चारमाध्यमले उनको पारिवारिक जीवनमाथि प्रश्न उठाउँदै बहुविवाह गरेको दाबी गरेका थिए। जवाफमा थापाले मंगलबार डिभोर्सको प्रमाण सार्वजनिक गरेका हुन्।

उनले डिभोर्स पेपर सार्वजनिक गर्दै आफूले परिस्थितिवस् जीवनमा दुईवटा विवाह गरेको सत्य भए पनि बहुविवाह नगरेको दाबी गरे।

उनले सार्वजनिक गरेको पत्रअनुसार पहिलो श्रीमतीसँग उनको २०७९ माघ १५ गते अदालतबाट डिभोर्स भएको देखिन्छ। उनकी पूर्वपत्नीले अंशबन्डा नलिने सहमतिसहित दायर गरेको डिभोर्सको मुद्धामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासबाट उनीहरूको सम्बन्ध टुंगिएको देखिन्छ।

प्रमाण सार्वजनिक गर्दै थापाले भने, ‘प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म  जवाफ पनि दिन्थिन होला। तर मैले बुझेको छु यो आक्रमण म‌ माथि होइन, यो बेथिति र विसङ्गतिमा रमाउनेहरूबाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको सुनियोजित आक्रमण हो।’

उनले सन्तानको भविष्यको लागि पहिलो श्रीमतीसँग पनि सुमधर सम्बन्ध रहेको बताएका छन्। उनले सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि पूर्वपत्नीसँगको सम्बन्ध सौहाद्रपूर्ण बनाउनु कसैलाई गल्ती लाग्ने भए त्यसमा आफूलाई ग्लानी नरहेको उनले स्पष्ट पारे।

उनले भने, ‘सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध  आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने उ नाबालिग हुँदासम्म मात्र होइन म  बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई  कसैको अनुमति लिनु पर्दैन।’

उनले यो आफूमाथिको आक्रमण नभइ रास्वपामाथिको आक्रमण भएको दाबी गर्दै आफ्नो व्यक्तिगत कारणले पार्टीमाथि दाग लाग्न नदिने बताए।

उनले आफू देश बदल्ने अभियानमा होमिएको र रुपन्देहीले देशमा कति ठूलो राजनीतिक सुनामी आउँदैछ भनेर सुनाउन लागेको बताए। उनले रुपन्देही-३ को उम्मेद्वार आफू नभइ आफूसँग पार्टीको आन्तरिक निर्वाचनमा भाग लिएका नेताहरू र जनताहरू सबै उम्मेद्वार रहेको बताए।

उनले भने, ‘अस्ति नक्खु कारागारमा  सभापतिले  हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु- ‘तपाईंहरू उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ, यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईंहरू त्यसको संवाहक बन्नुपर्छ।’ हो म त्यही यात्रामा अगाडि बढेको छु। रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ।’

उनले आफू पार्टीको उम्मेदवार छनोट विधिअन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको उल्लेख गर्दै यद्यपि पार्टीले गर्ने कुनैपनि निर्णयलाई आफू सहर्ष स्वागत, स्वीकार र  पालना गर्न तयार रहेको बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!