
बिएल संवाददाता
बिहिबार साँझ ७ बजे। सेतो गुम्बास्थित कालिजको मासुका लागि प्रख्यात ‘एमएस रिसोर्ट’मा एकसाथ देखिए रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी। उक्त दृश्य बाहिरिएसँगै पार्टीभित्र हलचल ल्याएकाे छ।
पार्टीबाट निष्कासित भएपछि पनि सभापति रवि लामिछानेविरुद्ध विषवमनमा उत्रिएका मुकुलसँग निशाको हिमचिम देखिएपछि रास्वपाभित्र खैलाबैला मच्चिएको हो। पार्टीमा उनीमाथि कारबाहीको मागसमेत उठेको छ।
रास्वपाको कारबाहीपछि निर्वाचन आयोगले समेत पार्टीको फाइल अडिट गरिसकेको छ। तर पनि ढकाल आफूलाई पार्टीको महामन्त्री दाबी गर्दै हिँड्छन्। पार्टीमा समस्या खडा गर्छन्। यस्तोमा पार्टीको संसदीय दलकी सचेतक समेत रहेकी निशाको दोस्ती पार्टीलाई नै भारी परिरहेको रास्वपा वृत्तमा हल्लाखल्ला छ।
मुकुलले रास्वपामा एकतिहाइ सांसद आफ्नो पक्षमा रहेको दाबी गरिरहेको अवस्थामा सचेतकसँगकै हिमचिमले उनको दाबीलाई बल पुर्याएको रास्वपाका एक केन्द्रीय सदस्य बताउँछन्।
राजनीतिक रुपमा र पार्टीको जिम्मेवार नेताको रुपमा डाँगीको हर्क राजनीतिक रुपमा अनैतिक रहेको उनी बताउँछन्। भन्छन्, ‘उहाँहरूको सम्बन्ध पुरानै हो भन्ने बुझेको छु। तर, सचेतक जस्तो मान्छे पार्टीको प्रखर विरोधीलाई भेट्नु, त्यो पनि पार्टीको आधिकारिक जानकारी विना, अनि यो अनैतिक हर्क नभए के त?’
रास्वपाकी एक महिला केन्द्रीय सदस्यले त डाँगीलाई पार्टी सचेतकबाटै हटाउनुपर्ने माग गरिन्। निशा पनि मुकुल पथमा पार्टी सिध्याउन लागिपरेको उनको आरोप छ।
निशालाई अनुशासनको कारबाही, गोप्य सूचना चुहाएको कारबाही, यतिसम्म कि केन्द्रीय सदस्यबाटै निष्कासित गर्नुपर्ने उनको माग छ।
अझ यसमा प्रमुख सचेतक सन्तोष परियारकै भुमिका शंकास्पद रहेको रास्वपा नेताहरू बताउँछन्। प्रमुख सचेतककै अन्डरमा रहेकी निशाले उनलाई नसोधी मुकुललाई भेटेकोमा नेताहरू शंका गर्छन्।
पार्टीले कारबाही गरेपछि पनि मुकुल र निशाबीच निरन्तर सम्पर्कमै रहेको कुरा थापा पाएपछि प्रमुख सचेतकलाई सुनाउँदा उल्टै हप्कीदप्की खानुपरेको एक केन्द्रीय सदस्य बताउँछन्। भन्छन् ‘मैले यस विषयमा पटकपटक पार्टीभित्र कुरा उठाएकै हुँ। तर त्योबेला प्रमुख सचेतकले मलाई हप्काउनुभयो। अहिले त प्रष्टै भयो नि!’
उता, सांसद डाँगीले मुकुल र आफूबीच भेट भएकाे स्वीकार गरिन्। उनले मुकुलसँग व्यवसायिक कुराकानी भएकाे छाेटाे प्रतिक्रिया दिँदै भनिन्, ‘उहाँ (मुकुल)ले बौद्धतिर एउटा मेडिकल सुरु गर्ने योजना बनाउनुभएको रहेछ। एक जना मान्छेले बेच्न लागेको पसल उहाँले किन्ने रे! बेच्ने मान्छे पनि मैले चिनेको व्यक्ति हुनुहुँदो रहेछ। म पनि त्यतै बस्ने भएकोले के कसरी गर्ने भनेर छलफल गर्न भेटेका हौँ। पार्टीको कुरा भएन। बरु, थोरै रामहरि खतिवडाको प्रसंग निस्कियो।’
कालिज रिसोर्टमा व्यवसायिक कुराकानी गरेको भनेपनि पार्टीका गोप्य कुरा चुहाएको आरोप उनीमाथि छ। किनभने पार्टीबाट निष्कासित मुकुलले रास्वपाको डे-टुडे अपडेट कसरी पाइरहेका थिए? भन्नेमा रास्वपा कोर टीम चिन्तित थियो। र शंका पहिलेदेखिनै निशामाथि नै थियो।
रास्वपाले उनीहरूमाथि निगरानी गर्न टीम नै परिचालन गरेको थियो। सोही टीमले नै फेला पारेको हो मुकुल-निशालाई एकसाथ।
जतिबेला मुकुल रास्वपामा थिए, त्याेबेला मुकुल र निशाबीच प्रेम सम्बन्धको चर्चा नचलेको भने होइन। दुवै जनाले यो विषयलाई अस्वीकार गरेका थिए। तर रास्वपाको केन्द्रीय कमिटी बैठकले मुकुललाई पदबाट निलम्बन गर्दा उनको बचाउमा निशा थिइन्। यद्यपि, अन्तिममा उनले पार्टी केन्द्रीय कमिटीको निर्णय मान्न बाध्य भइन्।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया