आइतबार, १२ अक्टोबर २०२५

प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको प्रचार प्रमाणित गर्न सचिवालयको चुनौती

News Image
• • •

नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उनका परिवारका सदस्यहरूप्रति लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएका समाचारप्रति माओवादी केन्द्रको सचिवालयले आपत्ति जनाएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले हालै केही सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरूमा प्रचण्ड र उनको परिवारविरुद्ध आएको सूचनालाई ‘तथ्यहीन, चरित्रहत्या गर्ने र पूर्वाग्रही’ भन्दै खण्डन गरेको हो।

‘संकटको आजको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भत्सर्ना गर्दछौं,’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

सचिवालयले विशेषगरी दुईवटा ट्रकमा दुई करोड रुपैयाँ प्रचण्ड निवासबाट ‘जेनजी आन्दोलन’ अघि लैजाने, गंगा दाहालको घरमा आठजना सुरक्षाकर्मी खटाइएको, र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको जस्ता दाबीहरूलाई आधारहीन र प्रमाणविहीन आरोप भनेको छ।

‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई यस्ता निराधार आरोपहरूको प्रमाण पेस गर्न चुनौती दिन्छौं,’ सचिवालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ।

सचिवालयले अभिव्यक्ति स्वतन्त्रताको नाममा गालीगलौज, चरित्र हत्या र मानहानी गर्न नपाइने संविधान र पत्रकार आचारसंहिताको प्रावधान स्मरण गराउँदै सूचना प्रवाह गर्दा सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण समेट्नुपर्ने न्यूनतम पत्रकारिता मूल्य र मान्यताको पालना गर्न आग्रह गरेको छ।

त्यस्तै, यस्ता गलत प्रचारप्रसारहरू साइबर कानुनविपरीत हुने भन्दै कानुनी अनुसन्धानका लागि सम्बन्धित निकायहरूमा अनुरोध गरिएको छ।

‘भविष्यमा यस्ता तथ्यहीन र दुराशयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंमाथि नै रहनेछ,’ विज्ञप्तिमा चेतावनी दिइएको छ।

सचिवालयले आम जनसमुदायलाई यस्ता भ्रामक प्रचारप्रति भ्रममा नपर्न आग्रह पनि गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!