शनिबार, १३ जुन २०२६

ब्राजिललाई मोरक्कोको चुनौती

ब्राजिललाई मोरक्कोको चुनौती
ब्राजिललाई मोरक्कोको चुनौती
• • •

सर्वाधिक पाँच पटक विश्वकप जित्ने ब्राजिल लामो समयदेखि आफ्नो छैटौँ विश्वकप उपाधिको पर्खाइमा छ। सन् २००२ देखि ब्राजिललाई उपाधिले पर्खिरहेको छ। सोही अभियान अन्तर्गत ब्राजिलले विश्वकप फुटबल–२०२६ मा आफ्नो पहिलो खेल बलियो मोरक्कोविरुद्ध खेल्दै छ । सन् १९३० मा सुरु भएको विश्वकपदेखि अहिलेसम्म लगातार खेल्ने एक मात्र टिम हो ब्राजिल।

विश्वकप फुटबल भन्नासाथ यसको दाबेदारका रूपमा सबभन्दा अग्रपङ्क्तिमा आउने नाम पनि ब्राजिल नै हो तर कार्लो एन्सेलोटीको नेतृत्वमा उत्तरी अमेरिका आइपुगेको ब्राजिलको टिम अहिले स्थिर छैन। पछिल्ला तीन वर्षमा ब्राजिलले चार प्रशिक्षक परिवर्तन गरिसकेको छ। ब्राजिलका प्रमुख खेलाडी नेमार पनि पूर्ण रूपमा दुरुस्त हुनुहुन्न।

अन्य दाबेदार टोलीले सहज समूह पाएको यस विश्वकपमा ब्राजिल भने पहिलो खेलमै बलियो विपक्षीको सामना गर्न पनि बाध्य छ । मोरक्को गत संस्करणमा सेमिफाइनलसम्म पुग्ने टिम हो। विश्व वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई समूह चरणमा हराएर अगाडि बढेको मोरक्कोले नकआउट चरणमा पनि एक से एक टिमलाई पन्छाएको थियो।

मोरक्को प्रिक्वाटरफाइनलमा पूर्वविजेता स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएर विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने पहिले अरबी देश बनेको थियो । त्यसको तीन दिनपछि व्रिmस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई बिदा गरेर मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो।

यसपालि पछिल्लो साखलाई जोगाउने मोरक्कोको लक्ष्य हुने छ । मोरक्को अफ्रिकन च्याम्पियन पनि हो । मोरक्कोले सोही लयलाई ब्राजिलविरुद्ध कायम राख्ने अपेक्षा गरेको छ। स्पेनी र फ्रान्सेली लिगमा खेल्ने खेलाडीहरू भएकाले ब्राजिललाई स्तब्ध गर्ने क्षमता मोरक्कोसँग छ भन्दा फरक पर्दैन।

यद्यपि मोरक्को अहिले चोटको मारमा छ । गत आइतबार नर्वेविरुद्धको अभ्यास खेलमा नएफ अगुएर्ड र आब्दे एजालजोली घाइते हुनुभयो । ब्राजिल पनि चोटकै समस्यामा छ । ढाडको समस्याले पीडित नेमारले मोरक्कोको खेलमा खेल्ने पक्का छैन । ब्राजिलले चोटकै कारण रोड्रिगो, इस्टिभाओ, एडर मिलिटाओ र वेस्ली जस्ता स्टार खेलाडीलाई गुमाइसकेको छ । ब्राजिल यसपालि फरवार्ड भिनिसियस जुनियरमा धेरै भर पर्नु पर्ने छ।

कतार–स्विट्जरल्यान्ड

पछिल्लो संस्करणको आयोजक कतारले चार वर्षअघि घरेलु मैदानमा गरेको निराशाजनक प्रदर्शनलाई भुलाउन शनिबार विश्वकप फुटबल–२०२६ मा आफ्नो पहिलो खेल स्विट्जरल्यान्डविरुद्ध खेल्दै छ।

पछिल्लो संस्करणमा कतारले घरेलु मैदान र समर्थकको साथ पाए पनि तिनै खेल हारेको थिय । यद्यपि सो पीडालाई भुलाउँदै एसियाली कपको उपाधि रक्षा गर्नुका साथै विश्वकपमा पनि सजिलै चयन भएर कतार थप बलियो भएर फुटबलको सबभन्दा ठुलो मञ्चमा प्रस्तुत भएको छ । स्विट्जरल्यान्ड पनि बलियो टिम हो।

सन् २०२४ को अन्त्यदेखि नै प्रतिस्पर्धात्मक खेलमा अपराजित स्विट्जरल्यान्ड लगातार छैटौँ विश्वकप खेल्दै छ। पछिल्लो युरो कपमा पनि स्विट्जरल्यान्डले प्रभावशाली प्रदर्शन गरेको थियो।

कतारका स्पेनी प्रशिक्षक जुलेन लोपेटगुइले पनि बलियो टिम स्विट्जरल्यान्डविरुद्ध खेल्नुपर्ने भएकाले खेल जित्न आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्नु पर्छ भने।

हामीलाई वास्तविकता थाहा छ, विपक्षी हामीभन्दा बलियो छ तर यसको अर्थ आत्मसमर्पण गर्नु होइन, प्रशिक्षक लोपेटगुइको भनाइ छ। स्विट्जरल्यान्डले छनोटमा अपराजित रहँदै मात्र दुई गोल बेहोरेको थियो। पछिल्ला तीन विश्वकपमा स्विट्जरल्यान्डले नकआउटमा स्थान बनाएको थियो तर तिनै पटक स्विट्जरल्यान्डले प्रिक्वाटरफाइनलभन्दा अगाडिको यात्रा गर्न सकेन। 

पछिल्लो समयमा कतारले फुटबल विकासमा ठुलो लगानी पनि गरेको छ । यद्यपि कतारको टिममा घरेलु फुटबल खेल्ने खेलाडी नै धेरै छन् । त्यसैले स्विट्जरल्यानड जस्तो सशक्त युरोपेली टिमविरुद्ध कठिन हुन सक्छ।

स्कटल्यान्ड–हाइटी
विश्वकप फुटबल–२०२६ अन्तर्गत शनिबार एकअर्कासँग खेल्दा स्कटल्यान्ड र हाइटीसामु जितको विकल्प हुने छैन । समूह ‘सी’ मा पाँच पटकको विजेता ब्राजिल र पछिल्लो संस्करणमा सेमिफाइनल खेलेको मोरक्को पनि भएकाले यस खेलबाट स्कटल्यान्ड र हाइटीलाई तीन अङ्क अत्यावश्यक छ।

यी दुवै देशले अहिलेसम्म विश्वकपको छनोट चरण पार गर्न सकेका छैनन् । विगतमा सन् १९७४ मा एक पटक मात्र विश्वकप खेलेको हाइटीले सो समय तिनै खेल गुमाएको थियो। स्कटल्यान्ड आठ पटक विश्वकपमा सहभागी भएर पनि नकआउटमा पुग्न सकेको छैन।

यद्यपि यसपालि अन्तिम ३२ देखि नकआउट हुने हुँदा दुवै देशले इतिहास बनाउने अपेक्षा गरेका छन् । स्कटल्यान्डले विश्वकपअघि दुई खेलमा कुराकाओ र बोलिभियाविरुद्ध कुल आठ गोल गरेर आफू सानदार लयमा रहेको देखाएको छ । क्यारेबियन राष्ट्र हाइटीले पनि वार्मअप खेलमा विश्वकपमा सहभागी अर्को टोली न्युजिल्यान्डलाई ४–० ले सहजै हराएर आफ्नो क्षमतामा कमी नरहेको प्रस्ट पारेको छ।

अस्ट्रेलिया–टर्की
विश्वकप फुटबल–२०२६ मा समूह ‘डी’ को पहिलो खेल अस्ट्रेलिया र टर्कीबिच शनिबार हुँदै छ । आक्रामक मिडफिल्डर अर्डा गुलरको नेतृत्वमा रहेको टर्की झन्डै दुई दशकपछि विश्वकपमा फर्केको छ । पछिल्लो पटक सन् २००२ मा विश्वकप खेल्दा टर्कीले सेमिफाइनलसम्मको यात्रा गर्दा गुलर जन्मनुभएको थिएन । युरोपेली च्याम्पियनसिपमा सधैँ राम्रो खेल्ने भएकाले पनि दुई दशकभन्दा बढी समय टर्की विश्वकपमा छनोट हुन नसक्नु पनि आश्चर्यका रूपमा हेरिएको छ । यसै गरी अस्ट्रेलिया पछिल्लो संस्करणमा ट्युनिसिया र डेनमार्कलाई हराएर नकआउट चरणमा पुगेको टिम हो। सो समय च्याम्पियन बनेको अर्जेन्टिनासँग २–१ ले पराजित भएपछि अस्ट्रेलियाको यात्रा टुङ्गिएको थियो । विगतमा सधैँ कठिन समूहमा पर्ने अस्ट्रेलियाले यस पटक नकआउट चरणमा पुग्ने यथार्थपरक अवसर देखेको छ। यसपालि अस्ट्रेलियाका १७ खेलाडीले विश्वकपमा पदार्पण गर्दै छ। एजेन्सी   

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!